सूचनाको शक्ति - The Power Of Information

        

कोभिड–१९ संक्रमणका दुई वर्ष

नेपालमा कोरोनाबाट साढे ११ हजारको मृत्यु, १० लाखभन्दा बढी संक्रमित

अहिले देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित छन् ।

फाइल तस्वीर

काठमाडौं । नेपालमा दुई वर्षअघि आजकै दिन अर्थात् माघ १० गते पहिलोपटक कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा पहिलोपटक कोभिड–१९ पहिचान भएको थियो ।

त्यतिबेला नेपालमा पीसीआर परीक्षण सुरु भएको थिएन । तर, लक्षणका आधारमा संक्रमितलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार गरिन्थ्यो । ती पुरुषलाई पनि टेकुमा नै चार दिनसम्म भर्ना गरी उपचार गरिएको थियो ।

उपचारको क्रममा उनको नमूना हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइ परीक्षण गरीएको थियो । सोही नमूनामा ०७६ माघ १० गते कोभिड १९ पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो ।

०७६ चैत २२ गतेदेखि नेपालमा पहिलोपटक स्थानीयमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनी कैलालीकी ३४ वर्षीया महिला थिइन् । यो समयसम्म नेपालमा कोभिड संक्रमण पुष्टि हुनेको संख्या ९ पुगिसकेको थियो ।

तर, चैत २२ अघि संक्रमण पुष्टि भएका सबै चीन र भारतबाट आएका नेपाली नागरिक थिए । ०७६ चैतदेखि नै नेपालमा कोभिड संक्रमण समुदायमा फैलिएको थियो । पहिलोपटक नेपालमा ०७७ जेठ ३ गते कोभिड–१९ संक्रमणबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको थियो ।

०७७ असारदेखि निरन्तर उकालो लागेको संक्रमितको संख्या पहिलो लहरको संक्रमणमा दैनिक ५ हजारसम्म पुगेको थियो भने दैनिक ३० जनासम्मको मृत्यु भयो । ०७७ काक्तिकमा २३ प्रतिशत रहेको संक्रमण दर पुससम्म ११ प्रतिशतमा झरिसकेको थियो ।

नेपालमा ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरियो । ०७७ चैत ११ सम्म नेपालमा कोभिड–१९ संक्रमणबाट ३ हजार १९ जनाको ज्यान गइसकेको थियो । ०७७ चैतबाट नेपालमा संक्रमणको दोस्रो लहर सुरु भयो ।

चैत अन्तिमदेखि जेठ पहिलो सातासम्मको अवधिलाई सरकारले पनि कठिन अवस्थाका रुपमा व्याख्या गर्यो यही दुई महिनामा नेपालमा दैनिक कोभिड संक्रमणका कारण २५३ जना सम्मले ज्यान गुमाएका थिए । ०७८ असार ४ गतेसमम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको थियो ।

संक्रमणका यी दुई लहरमा नेपालमा अल्फा र डेल्टा भेरियन्टका कारण संक्रमण बढेको थियो । दोस्रो लहरमा डेल्टा भेरियन्टका कारण संक्रमण उच्च भएको र सबैभन्दा बढी संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ०७८ असारयता क्रमशः घट्दै गएको संक्रमण असोजसम्म निरन्तर ओरालो लागिरहेको थियो ।

तर, मंसिरयता संक्रमण दर र दैनिक थपिने संक्रमितको संख्या विस्तारै बढ्दै गयो पुस यता यो संख्या निरन्तर बढिरहेको छ । विज्ञहरुले पुस अन्तिम सायतादेखि नेपालमा तेस्रो लरहको संक्रमण सुरु भएको बताइरहँदा माघ ५ गते एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ११ हजार ३५२ जना कोभिड १९ संक्रमित थपिए ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका कारण संक्रमण बढ्दो छ भने दैनिक मृत्युको संख्या १६ सम्म पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या दैनिक २० हजारसम्म पुग्ने र अस्पताल भर्ना हुनेको संख्या एक हजारसम्म पुग्ने आंकलन गरेको छ ।

दैनिक २० हजार जना संक्रमित भए मृत्यु हुनेको संख्या ३० सम्म पुग्नसक्ने विज्ञहरुले बताएका छन् । यसरी नेपालमा कोभिड १९ संक्रमण पुष्टि भएको २ वर्ष पूरा हुँदा १० लाख २३ हजार ३०७ जना संक्रमित भएका छन् भने ११ हजार ६५५ जनाको मृत्यु भएको छ । अहिले देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:०१