बाँके । व्यावसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहियाका बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग परे । ‘गाउँपालिकाले हामीलाई भत्ता दिएकोमा धेरै खुसी लागेको छ,’ ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका उनले भने, ‘अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।’
बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
उनकाअनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।
कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले स्थानीयको आर्थिक स्तरमा थप वृद्धि गर्ने पनि बताए ।
‘गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ,’ उनले भने, ‘परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’ गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् ।
वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लगाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरतीदेवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरिन् ।
यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरापालन गर्दै आएका वडा नं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पालेका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
उनका अनुसार वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
।