सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

फेरिए वडाभित्रका हिलाम्य सडक, ‘कतै स्तरोन्नती, कतै कालोपत्रे’

बाँके । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि सबै संरचना संघीयता अनुसार निर्माण भयो । देशका सबै गाउँपालिकाहरु एकापसमा जोडिँदै महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिकामा गाभिए ।

संघीय संरचना अनुसार क्षेत्रफलका आधारमा वडाहरुसमेत तय भए । भौतिक, वातावरणीय, मानवीय, सडक, शिक्षा स्वास्थ्य, कृषि, वन यी सबै कुराहरुको विकास तथा संरक्षण गर्नुपर्ने कार्यलाई सहजरुपमा अघि बढाउनका लागि नै वडाहरु निर्माण भए । जसले गर्दा सबै कुराहरु जनतासमक्ष पुर्याउन र सेवा प्रदान गर्न सहज बन्यो ।

संघीय संरचना अनुसार निर्माण भएका वडाहरुमा विविध विषयमा कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् र धेरै ठाउँहरुमा ती कार्यक्रमहरुले प्रत्यक्षरुपमा जनतालाई सहजसमेत बनाएको पाइएको छ । धेरैजसो वडाहरुमा सहजरुपमा कायृक्रमहरु पनि सञ्चालन भइरहेको छ र उक्त कार्यमा सर्वसाधारणको सहयोग, परिश्रम पनि लगाएका छन् ।

जसले गर्दा केही वडाहरु नमूना वडाका रुपमा समेत विकासोन्मूख देखिन्छन् । स्थानीय तहको निर्वाचनपछि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ पनि नमूना तथा विकासोन्मूख वडाका रुपमा अधि बढिरहेको छ । स्थानीय तहको निर्वाचनअघि वडाभित्रका विभिन्न गाउँमा जाँदा सास्ती खेप्नुपथ्र्यो । सडकको अवस्था दयनीय हुँदा हिँड्डुुल गर्नै मुश्किल पर्ने वडा नं. ७ का सडकहरु स्थानीय सरकार आएपछि सुधारिएका छन् ।

जनप्रतिनिधि आउनुअघि वडाभित्र स्तरीय सडक थिएनन् । अझ भनौं पक्की सडक नै थिएनन् । कच्ची र धुलाम्मे सडकले स्थानीयहरुलाई आवतजावतमा निकै सास्ती हुन्थ्यो । केही सडकहरु पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको छ । वडाभित्रका सडकहरु स्तरोन्नती भइरहेका छन् । जनप्रतिनिधि आएपछि वडाको विकासले गति लिएको छ ।

यस वडाको अवस्था पहिलेभन्दा निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि यहाँका गाउँहरुमा आउजाउ गर्न समस्या छैन । कच्ची सडकलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकहरु पिसिसी गरेर पक्की बनाइएको छ । केही सडकहरु कालोपत्रेसमेत गरिएका छन् ।

जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र र स्थानीय तहको सहकार्यमा यस वडाभित्रका गाउँ बस्तीहरु सडक सञ्जालले घेरिएका छन् । स्थानीय तहको निर्वाचन भएसँगै यस वडापालिकाले प्रत्येक टोलमा सडक सञ्जाल बिस्तार गरिसकेको छ । ‘वडाका सबै टोलमा सडक सञ्जाल बिस्तार गरिसकेका छौं,’ राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने ।

जनप्रतिनिधिविहिन हुँदासम्म समस्यै समस्यारुपमा रहेको यो वडा अहिले परिवर्तन हुँदै गएको छ । जनप्रतिनिधि आइसकेपछि विकास निर्माणका कामहरु द्रुत गतिमा सञ्चालन भइरहेका छन् । विकास निर्माणको कुरा गर्दा यहाँको सडक पूर्वाधारहरु सबै मर्मत सम्भार गरिएको छ । यहाँका आली बाटाहरु ग्राभेल सडकमा रुपान्तरण भएका छन् ।

ग्राभेल सडकहरु पिसिसी गरिएका छन् भने मुख्यरुपमा वडालाई राजमार्गसँग जोड्ने ग्राभेल सडकहरु कालोपत्रे गरिएका छन् । यसले वडाका सर्वसाधारण हिँड्डुल गर्न लागि सहज बनाएको छ । पहिले पानी, हिलो भरिएर हिँड्नसमेत नसकिने सडकहरु अहिले उक्त समस्याबाट मुक्त भएका छन् ।

मुख्य सकडबाहेक सबै बाटोहरुमा साना गाडीहरु सहजै गुड्न सक्ने भएका छन् । यसले वडाको अन्य क्षेत्रको विकासमा समेत सहयोग पुर्याएको छ । वडा कार्यालयका अनुसार यहाँ सबै सडकहरुको स्तरोन्नती गरिएको छ । जनप्रतिनिधि आएको चार वर्षको समय सकिँदासम्म सबै अप्ठ्यारा सडकहरु सहज भएका छन् । वडाध्यक्ष थारुले वडाको विकासलाई सहज बनाउन सबैभन्दा मुख्य सडकहरुलाई स्तरोन्नती गरेको बताए ।

वडाभित्रका सडकहरुको स्तरोन्नतीसँगै वडाका नागरिकलाई गाउँमै अन्य पेशा व्यवसाय गर्न सहज भएको पनि उनले बताए । ‘बाटोहरु राम्रो बनेपछि अन्य कुराहरु सञ्चालन गर्न सजिलो हुन्छ,’ वडाध्यक्ष थारुले भने, ‘पहिलो चरणमा बाटोहरुको स्तरोन्नती गरियो, त्यसपछि अन्य कुराहरुलाई हामीले बिस्तारै अघि बढाइरहेका छौं । सडक नै विकासको मेरुदण्डका रुपमा रहेको पाइन्छ ।’

यस वडामा रहेका २४ वटै गाउँका सडकहरुको स्तरोन्नती भएको छ । जिल्ला, प्रदेश र संघमार्फत बिभिन्न गतिविधिहरु समेत सञ्चालन भए पनि वडास्तरबाट राधाकृष्ण चोकदेखि कृषि सडकसम्म करिब १ किलोमिटर कालोपत्रे भएको छ भने सर्री गाउँमा १.५ किलोमिटर, बिसम्भरपुर गाउँमा एक किलोमिटर र निबुवाटारमा एक किलोमिटर सडक ग्राभेल गरिएको छ ।

त्यस्तै छपरतल्ली गाउँमा ५०० मिटर, गेंदवा नयाँबस्तीमा २ किलोमिटर, पहाडीपुरदेखि बसन्तापुर गाउँसम्म १.५ किलोमटिर, छोटका देवपुरामा ५०० मिटर, लालपुरमा २.५ किलोमिटर, नन्कौपुरमा १ किलोमिटर, भरथामा ८०० मिटर, झगडियामा ३ किलोमिटर, फँरेदामा १ किलोमिटर, कोरी सैय्यापुरमा १ किलोमिटर, नालापारीमा १ किलोमिटर, भेलुनियामा ५०० मिटर र सर्रामा ५०० मिटर ग्राभेल सडक निर्माण भएको छ ।

यस्तै देवपुरामा ५०० मिटर, पिप्रहवामा ६०० मिटर सडक स्तरोन्नती गर्दै पिसिसी गरिएको छ । वडाध्यक्ष थारुका अनुसार सडक निर्माणसँगै पानीको निकासको समेत व्यवस्थापन कार्य गरिएको छ । उनका अनुसार बिसम्भरपुरदेखि सर्री गाउँसम्म दुवैतर्फ २ किलोमिटर पक्की नाला निर्माण गरिएको छ भने कोरी सैय्यापुरमा दुवैतर्फ ५०० मिटर, गेंदवामा एकतर्फी ५०० मिटर, छपरतल्लीमा २०० मिटर, सोनपुरमा ५०० मिटर, सर्रामा २०० मिटर एकतर्फी पक्की नाली निर्माण भएको छ ।

वडाध्यक्ष थारुले यहाँका सम्पूर्ण सडकहरुको स्तरोन्नती गर्ने योजना अनुसार नै पहिलो चरणमा धेरैजसो गाउँमा सडकहरु स्तरोन्नती गरिएको बताए । उनले यस कार्यमा कहिँकतै कुनै प्रकारको विवादसमेत नआएको बताए । साथै बाटोको स्तरोन्नती गर्ने क्रममा स्थानीयले समेत सहयोग गरेका छन् । आफ्नो घर अगाडीको बाटो मर्मत भएर राम्रो हुन लाग्यो भनेर धेरैजसो ठाउँमा स्थानीयले समेत सहयोग गरेको वडाध्यक्ष थारुले बताए ।

‘हामीले कतिपय ठाउँमा सांघुरो रहेको बाटोहरु फराकिला बनाएका छौं,’ वडाध्यक्ष थारुले भने, ‘सो क्रममा स्थानीयले विवाद गर्लान् भन्ने पनि शंका लागेको थियो, तर हामीले सोचें भन्दा फरक पाइयो, सबै गाउँमा सहयोग मिल्यो, कसैले पनि कुनै प्रकार विवाद गर्नुभएन, हाम्रा लागि त्यो नै सबैभन्दा राम्रो कुरा भएको छ ।’ स्थानीय स्रोत र साधनको उपलब्धता अनुसार काम गर्दै गर्दा केही ठाउँमा थोरै कामहरु गर्न बाँकी रहेको उनले बताए ।

स्थानीय वडामार्फत सबै कामहरु एकैपटक गर्न सजिलो नहुने भएकाले केही ठाउँमा थोरै काम गर्न छुटेको वडाध्यक्ष थारुले स्पष्ट पारे । ‘आफ्नै गाउँ ठाउँलाई राम्रो बनाउने सोंच कसको हुँदैन र ?’ उनले भने, ‘तर वडाको बजेट न्युन हुन्छ, सबै कुरा एकैचोटी पुरा गर्न पनि पुग्दैन, त्यसकारण केही ठाउँमा केही काम बाँकी हुन पुगेको छ ।’

वडाभित्र अब करिब ३ किलोमिटर सडक ग्रावेल गर्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ । नागरिकको सहजताका लागि वडाभित्रका सबै सडकको स्तरोन्नती गर्ने लक्ष्यअनुसार अघि बढेकाले चार बर्षको अवधिमा वडा फेरिएको छ भने सडकको स्तरोन्नतीसँगै यस वडाका नागरिकहरुको जनजीवनसँगै दैनिकीसमेत फेरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १५:०९