सूचनाको शक्ति - The Power Of Information

        

लिभरपुल र चेल्सीको सहज जित, आर्सनल रोकियो बर्न्लेसँग बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र चेल्सी विजयी भएका छन् ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले हरायो । लिभरपुलका लागि भर्जिल भान डाइक, अक्सलेड चेम्बरलिन र फाबिन्होले एक एक गोल गरे ।

क्रिष्टल प्यालेसका इडुवार्डले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले पाखा लगायो । चेल्सीको जितमा हकिम जियक र थियागो सिल्भाले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई बर्न्लेले गोलरहित बराबरीमा रोक्दा लेष्टर सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा २३ खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थगानमा यथावत छ । २२ खेलबाट ४८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा २४ खेलबाट ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०८:२३