सूचनाको शक्ति - The Power Of Information

        

विमानको पाङ्ग्रामा लुकेर ११ घण्टा यात्रा गर्ने व्यक्ति जिउँदै !

एम्सटर्डम्स । डच प्रहरीले दक्षिण अफ्रिकाबाट एम्टर्डम्सको स्किफोल विमानस्थलमा अवतरण भएको एउटा मालवाहक विमानको पाङ्ग्रामा लुकेर बसेको अवस्थामा एकजना मानिस जीवितै फेला परेको जनाएको छ । जोहान्नेसवर्गबाट केन्याको राजधानी नैरोबीमा केही समय रोकिएर एम्सटर्डम्ससम्म आइपुग्न यस मालवाहक विमानलाई करिब एघार घन्टा लागेको थियो ।

विमान अत्यन्तै उचाइमा पुगेपछि हुने चिसो तथा न्यून अक्सिजनको वावजुद पनि लामो समयसम्म कुनै मानिस यसरी यात्रा गर्दा पनि बच्न सक्नुलाई निकै अस्वाभाविक घटनाको रूपमा लिइएको छ । ती व्यक्तिको नाम, उमेर र राष्ट्रियता यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

शाही डच सैनिक प्रहरी प्रवक्ता जोन्ना हेल्मोन्डले विमानको नोज ह्विल सेक्सनमा भेटिएका उनलाई स्थिर हालतमै अस्पताल पुर्याइएको र उनी जीवित रहनु ठूलै आश्चर्यको कुरा भएको एएफपीलाई बताएकी छन् । ती अज्ञात व्यक्ति जोहान्नेसवर्ग वा नैरोबीबाट विमान चढेको हो भन्ने पनि यकिन भएको छैन ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०८:१६