सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

उद्योगमा लगानीकर्ताको आकर्षण ‘जानकीतिरै’

बाँके । विकासक्रम बढेसँगै स्थानीयस्तरमै औद्योगीक नीतिहरुको निर्माण तथा कार्यान्वयनका पहलहरु शुरु भएको देखिन्छ । पश्चिम नेपालको सबैभन्दा ठुलो शहरका रुपमा परिचित नेपालगन्जमा उद्योगहरुको संख्यामा पनि उस्तै रहेको पाइन्छ । संघीय गणतन्त्रात्मक व्यवस्था लागु भएपछि अहिले स्थानीय तहहरुमा समेत उद्योगहरु खुल्ने क्रम बढेका छन् । जिल्लाकै बढी उद्योग भएको शहरका रुपमा परिचित नेपालगन्जसँगै अर्को क्षेत्र पनि परिचित हुन थालेको छ । त्यो हो बाँकेको जानकी गाउँपालिका ।

यहाँ पछिल्लो समय उद्योग स्थापना हुने क्रममा तीव्ररुपमा वृद्धि भएको छ । नेपालगन्ज शहरसँग जोडिएको गाउँपालिका पनि हो, जानकी । नेपालगन्जको बजारीकरणले यस पालिकालाई पनि बजारीकरण हुन प्रेरित गरेको छ भने कतिपय अवस्थामा परिवर्तन गर्नुपर्ने बाध्यताहरु पनि सृजना गरेको छ । त्यसकारण पनि जानकीमा उद्योगहरुको संख्यामा पनि बृद्धि हुने क्रम बढेको छ । जानकी गाउँपालिका प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाईका अनुसार पालिकामा उद्योगहरुको संख्या बढेको छ ।

उनले पालिकाले संघीय संरचनापछि पालिकामा उद्योग स्थापना हुने क्रम बढेको र सबैभन्दा बढि यस पालिकाको वडा नं ६ मा संख्या रहेको बताए । शाखामा रहेको तथ्यांकअनुसार जानकीमा ठुला उद्योगहरुको संख्या मात्रै २६ वटा रहेको छ । ‘ठुलो उद्योगहरुको मात्रै संख्या धेरै देखिन्छ,’ शाखा प्रमुख चौलागाईले भने, ‘यसरी हेर्दा तर साना उद्योगहरुको संख्या पनि धेरै छ ।’ जानकी गाउँपलिकालाई औद्योगिक पालिकाका रुपमा समेत विकास गर्न सकिन्छ ।

यहाँ भएका उद्योग र स्थापना हुने क्रम अनुसार पालिकालाई औद्योगिक पालिकाका रुपमा समेत बिकास गर्न सकिने अवस्था सृजना हुँदै गएको हो । अझ पछिल्लो समयमा जानकी गाउँपालिका औद्योगिक क्षेत्रको ‘हव’का रुपमा विकास हुँदै गएको छ । जानकी गाउँपालिकामा सिमेन्ट, आइरन, खाद्य, इँट्टा, जडिबुटी, रोजिन एण्ड टर्पेन्टाइन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग सञ्चालनमा छन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा झण्डै ३० वटा उद्योगमात्र सञ्चालनमा रहेका बेला गनापुरमा झण्डै दोब्बर उद्योग सञ्चालनमा छन् ।

वडा कार्यालयका अनुसार ६३ उद्योगमध्ये ६ वटा उद्योग बन्द छन् भने पाँच वटा उद्योग सञ्चालनको क्रममा छन् । यहाँ जय मंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा रहेका छन् । जगदम्बा भ्यालु सप प्रालि, जगदम्बा स्टिलर्स प्रालि, सत्या हर्वल प्रोडक्सन, शक्ति पोपेट प्राइभेट, तेजस्वी उद्योग प्रालि, सत्यम फ्लोर एण्ड एलाइड इन्डस्ष्ट्रिज रहेका छन् ।

त्यस्तै प्रगति मेटल इण्डस्ट्रिज जेकेआर इम्पोर्ट एक्सपोर्ट प्रालि, फेसन फर्निसिङ्ग प्रालि, मनोकामना वायर इन्डस्ष्ट्रिज प्रालि, पोलिमर्स इन्डस्ष्ट्रिज प्रालि, बाबु इँट्टा उद्योग, राज इँट्टा उद्योग, ओविसी प्लेट फिड प्रालि, सञ्जय स्क्रेप सप्लायर्स, गंगा इँट्टा उद्योग, नेपाल इँट्टा उद्योग, कृष्ण प्लाष्टिक उद्योग, प्रगति मेटल इन्डस्ष्ट्रिज, हंसराज हुलास चन्द एण्ड एलाइड इन्डस्ष्ट्रिज प्रालि, अंगुर टपन एण्ड भल्व प्रालि, सुपर पोलियार इन्डस्ट्रिज, गणपति कत्था एण्ड एलाइड इन्डस्ट्रिज प्रालि, एमएडब्ल्यु, भिदधी कर्मसियल भेरीकल्स, बागेश्वरी सप्लायर्स र जय बागेश्वरी प्लाष्टिक बोरा उद्योग रहेका छन् ।

त्यस्तै सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीको शोरुम पनि जानकीमै छन् भने धान र मसुरो प्रसोधन तथा वीउविजन उत्पादन केन्द्र, ठूला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ । ‘जानकी गाउँपालिका औद्यागिक क्षेत्रको ‘हव’को रुपमा विकास भएको छ,’ गाउँपालिका कार्यबाहक अध्यक्ष भुमीसरा धितालले भनिन् । त्यसमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिका–६, गनापुरमा मात्र ६३ वटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्र बनाउने सरकारको कुनै योजना नभए पनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताले उद्योग स्थापना गरिरहेको वडाध्यक्ष सुरेश यादवले बताए ।

उनले उद्योग सञ्चालनका लागि अनुमति माग्नेको संख्या धेरै भएको जानकारी दिए । ‘पश्चिम नेपालमा एउटै वडामा यो संख्यामा उद्योग सञ्चालन भएको सम्भवतः एकमात्र वडा होला,’ वडाध्यक्ष यादवले भने, ‘यस वडामा ठुला–ठुला उद्योगको आकर्षण धेरै छ ।’ यसका अलवा यस पालिकामै अन्य उद्योगहरुले समेत आफ्ना उत्पादन बजारमा ल्याउने गरेका छन् । यस पालिकामा उद्योग स्थापना गर्ने वातावरण राम्रो रहेको र नेपालगन्ज बजारदेखि केहीपर तर सुरक्षित भएकाले पनि यहाँ धमाधम उद्योगहरु खुलेका हुन् । उद्योग स्थापनका लागि आवश्यक पर्ने क्षेत्र र माहोल यस पालिकामा देखिन्छ ।

जहाँ धेरै शान्त र प्रयाप्त जग्गाको आपूर्ति वा प्रयोगमा ल्याउन सकिन्छ । जुन कुनै पनि उद्योग सञ्चालनका लागि धेरैभन्दा धेरै जग्गा आवश्यक पर्छ । यस पालिकामा प्रयाप्त स्थान रहेको र सजिलै उपभोग गर्न सकिने भएकाले यहाँका उद्योगको आकर्षण बढेको प्रशासन शाखा प्रमूख चालागाईले बताउनुभयो । यसका साथै सामानहरु भण्डारण गर्न तथा ढुवानीका लागि पनि उपयुक्त स्थान भएकाले पनि उद्योग स्थापनाले व्यापक्ता पाएको हो । साथै यस पालिकामा यहाँ स्थापित उद्योगहरुले प्रयाप्त मात्रामा राजश्व तिर्दै आएका छन् ।

पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गरेर विभिन्न सामान उत्पादन गर्नु यहाँ उद्योग स्थापनाको मुख्य आकर्षण हो । यसका साथै जानकी गाउँपालिकामा निर्माण व्यवसायीहरु पनि दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/२०७६ देखि २०७८ को कार्तिक १६ गतेसम्म ३२ वटा निर्माण व्यवसाय समेत दर्ता भएको प्रशासन शाखा प्रमुख चौलागाईले जानकारी दिनुभयो । गनापुरदेखि पश्चिम जाने बाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् । जानकीमा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकोले पनि उद्योगी, ब्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेका छन् ।

‘शहरभन्दा यहाँ जग्गा सस्तो छ । त्यही भएर पनि यहाँ उद्योगीको आर्कषण छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले भने । गनापुर क्षेत्र लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको महासचिव ओलीले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा गनापुर क्षेत्र भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको पनि उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । गनापुर क्षेत्रमा एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ उनले भने, ‘अब ठूला लगानीकर्तालाई बाँके नआएर सुखै छैन ।’

यसरी व्यापार व्यवसायभन्दा उद्योग स्थापनालाई बढी प्राथमिकतामा राख्ने र उद्योगमा लगानी प्रवद्र्धन गर्न नीतिगत र कार्यगत रूपमै जोड दिनुपर्ने आवश्यकता देखिन्छ । यसरी अघि बढ्दा उद्योगबाटै जानकी समृद्ध बन्नसक्छ । औद्योगिक विकासले समृद्ध ल्याउँछ । औद्योगीक विकासलाई मात्रै उपयोग गर्ने हो भने बाँकेको समृद्धि गाउँपालिकाबाट शुरू हुन्छ । सरकार, निजीक्षेत्र र जनताको प्रत्यक्ष सहभागितामा औद्योगिक क्षेत्रको विकास गरी पालिकालाई आत्मनिर्भर बनाउने नीति स्थानीय सरकारले लिन सक्नुपर्छ । उत्पादन बढाउन लघु, साना, मझौला र ठूला उद्योगहरू गाउँगाउँमा स्थापना गर्न सके उत्पादन वृद्धिसँगै आयात कम हुन्छ, जसले गाउँपालिका आत्मनिर्भर र समृद्धितर्फ अघि बढ्छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १६:३२