सूचनाको शक्ति - The Power Of Information

        

२२ वर्षमै सिन्दुर पुछिएपछि घरबार धान्न सकस

मुगु । हिउँद महिनाको समय फुस्स उडेको अनुहार, टाउको ओढेको हरियो रंगको पछ्यौरा, काखमा दुई दुधे बालक च्यापेर बसेकी छायाँनाथ रारा नगरपालिका–८ टोप्ला कि गोरीकलाको मन छियाछिया परेको छ ।

उनी उमेरले २२ वर्ष पुगिन् । तर, उनको जीवनमा परेको बज्रपातले गौरीकलालाई मात्र होइन जो सुकैलाई पनि स्तब्ध बनाउँछ । उनको यो कलकाउँदो उमेरमा उनको जीवनको साहरा खोसिएको छ ।

उनको पति टोपबहादुर विष्टले यो संसार छाडेपछि गौरीकला साहराविहीन बन्न पुगेकी छन् । जसले गर्दा उनको मन छियाछिया परेको छ । गत २६ असोज फुलपातीको दिनमा भएको बस दुर्घटनामा पति टोपबहादुरको मृत्यु भयो ।

अध्ययनको लागि नेपालगन्जमा रहेका उनी दसैँ मनाउन घर फर्केका थिए । सोही क्रममा छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँमा भएको बस दुर्घटनामा टोपबहादुरको मृत्यु भएको थियो ।

पतिको मृत्युपछि गोरीकलालाई दुई सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी आइपरेको छ । घरमा दुई छोरासहित सासुको हेरचाहको जिम्मेवारी पनि गौरीकलाकै काँधमा छ । ससुराको मृत्यु भइसकेको छ ।

ससुराको निधनपछि टोपबहादुरको सहारामा जीवनयापन गर्दै आइरहेका बिष्टका दम्पती बुबाको निधनको आँसु पुछ्न नपाउँदै टोपबहादुरको पनि मृत्युले गौरीकलाको परिवारमा बज्रपात परेको हो । कक्षा १० सम्म अध्ययन गरेकी गोरीकलाकै सल्लाहमा श्रीमानसँगै उच्च शिक्षा अध्ययन गर्न नेपालगन्ज गएका थिए ।

टोपबहादुरले काम गर्दा जोहो गरिदिएको केही रकमले अहिले छाक टारेका उनीहरू अब के खाने, के गर्ने भन्ने चिन्तामा पिरोलिन थालेका छन् । टोपबहादुरले जम्मा गरेको रकम र बिमा गरेको बचतले गोरीकलाले छोरा र सासुको पालनपोषणमा खर्च गरेको बताइन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १३:००