सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेको ट्राफिक व्यवस्थापन कमजोर, बढ्दै दुर्घटनाको जोखिम

फाइल तस्वीर

बाँके । कर्णाली तथा सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र रहेको लुम्बिनी प्रदेशको बाँकेमा ट्राफिक व्यवस्थापन निकै कमजोर देखिएको छ । बाँकेका मुख्य बजार क्षेत्रका सडकमा सवारी जाम बढ्न थालेपछि सवारी दुर्घटनाको जोखिमसमेत बढेको छ ।

जिल्लाका मुख्य बजारका सडकको दायाँबायाँ मनपरी गरिने पार्किङले ट्राफिक व्यवस्थापन निकै फितलो छ । जिल्लाका मुख्य शहर नेपालगन्ज, कोहलपुर, खजुराका मुख्य सडक क्षेत्रमा जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनलाई गिज्याइरहेको छ ।

पसल, अस्पताल, बैंक, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयसमेत रहेको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेदेखि सरकारी कार्यालयका सेवाग्राही हिँड्डुल गर्दा मुख्य सडक छेउमा सवारी पार्किङ गर्ने क्रम बढेको छ ।

सडकसँग जोडिएका व्यावसायिक प्रतिष्ठान तथा अस्पतालले पार्किङ क्षेत्र नबनाएकोले सडक क्षेत्र अतिक्रमण भइरहेको छ । पछिल्लो समय अटोरिक्साले थप जटिलता निम्त्याएका छन् । बाँकेमा ५० हजार बढी अटोरिक्सा सञ्चालनमा छन् ।

जसमध्ये आधाबढी नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालनमा छन् । मुख्य बजारमै केन्द्रित हुने भएकोले अटोरिक्साले सवारी चाप बढाएका छन् । मोटरसाइकल र साना सवारी पार्किङका लागि स्थान छुट्टयाए पनि कार्यान्वयन नहुँदा समस्या भएको छ ।

अटोरिक्साको वृद्धिसँगै कमजोर ट्राफिक व्यवस्थापनले समस्या थपिएको छ । अधिकांश अटोरिक्सा चालकसँग चालक अनुमति पत्र पनि छैन । निजी प्रयोजनका लागि भन्दै लिएका अटोरिक्साहरुले समेत धमाधम यात्रु बोक्न थालेका छन् ।

यस्तै अटोरिक्सा कति छन् भन्ने स्पष्ट तथ्यांक पनि छैन । मापदण्ड बिनै चलेका अटोरिक्साका कारण सडक दुर्घटनाको जोखिम उच्च छ । जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने गरेका छन् । ट्राफिक अव्यवस्थित हुने गरी रिक्साहरु पार्किङ्ग गरिन्छ ।

सवारी चालक अनुमपति पत्र लिनुपर्ने, यात्रु दुर्घटना बिमा हुनुपर्ने, ट्राफिक नियम पालना गर्नुपर्ने, जहाँ पायो त्यहीँ रोकेर यात्रु भर्ना नपाइने लगायतका मापदण्डहरु अधिकांश अटोरिक्सा व्यवसायी तथा चालकहरुले पालना गरेका हुँदैनन् ।

ट्राफिक प्रहरीको निगरानी अभावले यहाँ ट्राफिक नियम पालना गर्ने चालकको संख्या निकै कम देखिन्छ । ट्राफिक निगरानी कमजोर हुँदा सडक दुर्घटनासमेत बढिरहेको बाजुराको कोहलपुर नगरपालिका–१२ का जनक बुढा बताउँछन् ।

ट्राफिकले कडा निगरानी नराखेकै कारण दुर्घटना बढिरहेको उनको आरोप छ । पछिल्लो समयमा अटोरिक्सा यात्रुका लागि सजिलो यातायातको साधन बनेको छ । यात्रुलाई सहज भए पनि अटोरिक्साले दुर्घटनाको जोखिम बढाएको छ ।

दुर्घटना बिमा नै नभएका अटोरिक्सा, लाइसेन्स नभएका चालक र अन्य सवारी साधनले मुख्य सडक क्षेत्रमै जथाभावी पार्किङ्ग गर्दासमेत ट्राफिक प्रहरीले नजर पुर्याउन नसक्दा जिल्लाकै ट्राफिक व्यवस्थापन कमजोर देखिएको छ ।

ट्राफिक व्यवस्थापनकै बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरीक्षक हिमालय शाहसँग जानकारी लिनका लागि कार्यालयको सरकारी नम्बर ९८५८०८०६०१ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १२:३२