सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोनाको ‘रेडजोन’ बन्यो बाँके, समुदायस्तरमै फैलियो सङ्क्रमण

बाँके । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै बाँके जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणा गरिएको छ । जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० नाघेपछि जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणा गरिएको हो ।

‘रेडजोन’मा परेको बाँकेमा ६५० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ‘रेडजोन’मा परेपछि अहिले जिल्लामा स्वास्थ्य मापदण्ड र भौतिक दूरीको पालनामा विशेष कडाइ सुरु गरिएको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नरैनापुर गाउँपालिका र कोहलपुर नगरपालिका कार्यालयमै अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई सङ्क्रमण पुष्टि भएपछि ती कार्यालयमा अतिआवश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अहिले नेपालगन्जका विभिन्न स्थानमा प्रहरी र विभिन्न सङ्घ–संस्थाले ‘मास्क खोई’ अभियान चलाएर मास्क वितरण सुरु गरेको जनाउँदै बाँके ‘रेडजोन’ जिल्ला बनेपछि सबैतिर चिन्ता र आशङ्का बढेको पनि बताए ।

भेरी अस्पताल प्राङ्गणमा बुस्टर खोप लगाइँदैछ भने जिल्लाका सबै आठ वटै पालिकाका एक÷एक वटा खोप केन्द्रमा नियमित खोप लगाउने अभियान तीव्ररूपमा चलिरहेको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

समुदायस्तरमै फैलियो कोरोना

बाँकेमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको यहाँका स्वास्थ्यकर्मीले ठहर गरेका छन् । पछिल्लो समय सङ्क्रमण दर ह्वात्तै बढेकाले तेस्रो लहरको कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको छ । समुदायस्तरमा सङ्क्रमण बढी देखापरेको छ ।

खुला सीमा भएका कारण अहिले भारतबाट फर्किनेको संख्या उच्च रहेसँगै बाँकेमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा पुगेको बताइएको छ । सङ्क्रमण दर बढी भएकाले पनि कोरोना सङ्क्रमण समुदायमा पुगिसकेको चिकित्सकहरु बताउँछन् ।

कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहे पनि कोरोना लागेकै कारण मान्छे थला पर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् । तेस्रो लहरको सङ्क्रमणको क्रममा मानिस सिरियस भएको अवस्था छैन । सम्भवतः खोपका कारणले यस्तो भएको अनुमान छ ।

कोरोनाविरुद्धको खोपले धेरै काम गरेको चिकित्सकहरुको भनाई छ । खोप नलगाएका व्यक्ति सङ्क्रमित हुँदा केहीलाई समस्या भइरहेको डाक्टरहरु बताउछन् । चिकित्सकका अनुसार अहिलेको सङ्क्रमणको क्रममा मान्छेको माथिल्लो श्वास–प्रश्वासमा समस्या भइरहेको छ ।

घाँटीको रुद्र घण्टीभन्दा माथि घाँटी दुख्ने, खसखस लाग्ने र ज्वरो आउनेजस्ता समस्या भइरहेका छन् । दोस्रो लहरको डेल्टा भेरियन्टले भने तल्लो श्वास–प्रश्वास प्रणाली अर्थात् ‘लङ्ग्स’मा समस्या गरेकाले धेरैको मृत्यु भएको थियो । अहिलेको सङ्क्रमणको क्रममा मान्छेको माथिल्लो श्वास–प्रश्वासमा समस्या आइरहेको छ ।

अहिले सङ्क्रमण तीव्र भए पनि मान्छेमा जटिल समस्या भने भइरहेको छैन । तेस्रो लरहको कोरोनाले समस्या नगरे पनि सबैले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानी वा सेनिटाइजरको प्रयोग गर्न आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समय अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आउने क्रम बढेको छ । त्यसकारण कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको पुष्टि भएको छ । अहिले पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आउने दर बढेको छ । अब कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको पुष्टि हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार ०९:५८