बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्धारा प्रत्येक पहाडी जिल्लाहरुमा दुई वटा भेन्टिलेटरसहितको आइसीयु कक्ष राख्ने निर्णय अनुसार उक्त आइसीयु बेड ल्याइएको हो ।
गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरका बेला जिल्लामा श्वासप्रश्वासका विरामीहरुका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त वेड सञ्चालनमा ल्याउन नसकिएको हो ।
कोरोना महामारीको दोस्रो लहर फैलिएका वेला बझाङ जिल्लामा झण्डै १६ सयभन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो ।
जिल्लामा भेन्टिलेटरसहितको आइसीयु सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । यता जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार अहिले उक्त दुइवटा भेन्टिलेटरसहितको ८ वटा आइसीयुवेड जडान कार्य सम्पन्न भएको छ ।
पुस महिनाको पहिलो सातामात्रै उक्त जडान कार्य गरिएको डा.खड्काले बताए । जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुइ जनालाई भेन्टिलेटरसहितको आइसीयू वेड सञ्चालनका लागि तालिम दिएपछि सञ्चालन गर्न सकिने उनको भनाई छ ।
अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसीयू वेड सञ्चालनका लागि डा.मिलन खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पताल बझाङका प्रमुख अनवेश कोइरालाले बताए । आगामी दिनमा जटिल तथा आइसीयुमा राख्नुपर्ने विरामीहरु भर्ना भएको खण्डमा पनि जिल्लामा नै उपचार गर्न सकिने डा.कोइरालाले बताए ।
।