सूचनाको शक्ति - The Power Of Information

        

बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

सुर्खेत । सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार जिल्लाका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाहको उजुरी प्रहरीकोमा परेको थियो ।

उनीहरुविरुद्ध छिमेकी सीताकुमारी शाहीले उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित दुवैलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । शान्ताका श्रीमान् रोजगारीका लागि विदेशमा गएका बेला उनको शिक्षक सरोजसँग सम्बन्ध सुरु भएको थियो । शारीरिक सम्बन्धपछि शान्ताको गर्भ बसेको श्रीमान घर फर्किएपछि थाहा पाएका थिए ।

आफू आएको छोटो समयमा नै श्रीमती गर्भवती भएपछि उनले शंका गरेका थिए । सुरुमा आनाकानी गरेकी शान्ताले पछि जन्मिएको छोरा शिक्षक सरोजको भएको जनाएकी थिइन् । त्यसपछि उनी सरोजकै घरमा गएर बस्न थालेकी थिइन् । शान्तिको आफ्नो श्रीमानका तर्फबाट एक छोरी छन् भने सरोजको श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १४:२३