सूचनाको शक्ति - The Power Of Information

        

गरिबीका कथा लेख्ने पत्रकार ‘एलबी’, आर्थिक अभावले आफै अस्ताए !

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको आर्थिक अभावका कारण मृत्यु भएको पाइएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । उक्त हस्पिटलमा उनी एक महिनादेखि उपचार गराउँदै आएका थिए ।

शुक्रबार श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई राति ११ बजे अस्पताल भर्ना गरिएको थियो । ‘२ घण्टा स्वास्थ्य जाँच गराएपछि अस्पतालले ४ हजार ५ सयको बिल निकाल्यो,’ उनका भाई ललित टमटाले भने,‘हामीसँग ३ हजार ५ सय मात्रै थियो, १ हजार रुपैयाँ नहुँदा हस्पिटलले बिरामी लग्नु भन्यो, बाँकी रुपैयाँ भोलि दिन्छौ भन्दा पनि मानेन ।’

सिभिल हस्पिटलले उपचारमा लापरबाही गरेको उनी बताउँछन् । ‘रातिको साढे १२ बजे बिरामी लग्नु भन्यो, स्वासप्रस्वासको समस्या थियो,’ उनले भने, ‘अक्सिजन सिलिन्डर समेत दिएन् ।’ सिभिल हस्पिटलले रिफर गरेपछि पाटन हस्पिटल लगिएको थियो ।

‘राति साढे २ बजेतिर अस्पताल पुगायौं,’ उनले भने, ‘पाटन हस्पिटलले खासै रिस्पोन्स गरिदिएन, केही समस्यपछि कोरोना चेकजाँच ग-यो, रिर्पोट नेगेटिभ देखायो, त्यसपछि त मृत घोषणा गरिहाल्यो ।’

बिरामी हुँदा समेत उनी आवद्ध मिडियाले सहयोग नगरेको गुनासो ललितको छ ।  ‘आफ्नो मिडियामा काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्थ्यो, त्यो गरेको पाएनौं,’ उनले भने, ‘मिडियाले तलबसमेत नदिएको बुझिएको छ ।’

एलबी ५ महिनादेखि टिभीटुडे एचडि टेलिभिजनमा कार्यरत थिए । त्यसका संचालक दार्चुला पुर्ख्यौली घर भएका जनकराज पन्त हुन् । एलबी पनि अछाम रामारोशन – ५ का बासिन्दा थिए ।

भौगोलिक र भावनात्मक नाता भएपनि अप्ठ्यारो अवस्थामा साथ नपाएको गुनासो भाइ ललितको छ । तर, विश्वकर्मालाई नियमित तलब दिएको टेलिभिजनका सम्पादक अरुण जोशीले बताए ।

‘उनी हाम्रो टिभीका कुशल पत्रकार थिए, नियमित रुपमै तलब दिएका थियौं,’ उनले भने, ‘करिब १ महिनादेखि बिरामी थिए, उनले मागेको समयमा थप रुपैयाँ पनि दिएका छौं, घरबाटै काम गरिरहेका थिए, हिजो हामीलाई जानकारी दिएनन्, आवश्यक सहयोग गर्न सकिन्थ्यो ।’

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार २०:५८