सूचनाको शक्ति - The Power Of Information

        

साइपालको न्युनामा खाध्यान्न अभाव

बझाङ । साइपाल गाउँपालिकामा खाध्यान्न अभाव हुदाँ भोकमरी भएको छ ।

बझाङ जिल्लाको हिमाली क्षेत्रमा रहेको स्थानिय तह साईपालको वडा नम्बर ५ न्युनाका बासिन्दाहरु खाध्यान्न ढुवानी नहुँदा भोकमरी चपेटामा परेका छन् ।

स्थानिय धोज बोहरा, डबल बोहरा, मनविर बोहरा लगाएतका स्थानियहरुले २ महिना अगाडि चामलका लागि ४ लाख ६० हजार रुपैयाँ बुझाएको भए पनि आफुले चामल नपाएको र घरमा भएको जौँ, चामल लगाएतका अन्नहरु सकिएपछी खानलाइ समस्या भएको स्थानिय उमेश बोहराले बताउनुभयो ।

चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुवर र जयपृथ्वी नगरपालिका वडानम्बर १० का वडाअध्यक्ष दलबहादुर विष्ट भने अहिले सम्म पनि सम्र्पकमा नआएको समेत बोहराले बताउनुभयो ।

उब्जनी नहुने त्यो क्षेत्रका बासिन्दाहरु हरेक बर्ष भोकमरीको समस्या भोग्दै आएका र अर्कोतर्फ ब्यापारीहरुले अनुदानको चामल सस्तोमा किन्ने भएकोले पछि उपभोक्ताहरु त्यही चामल महंगोमा किन्ने गरेको र सर्व साधारण मर्कामा पर्ने गरेको स्थानिय धोज बोहराले बताउनुभयो । न्युनाका बसोवास गर्ने ३५ घरधुरी भोकमरीको चपेटामा परेका हुन् ।

हाल अनुदानको चामल २ महिना देखी पैसा तिरेर पनि ढुवानी नभएपछी अहिले खानलाई निकै समस्या भएकाले सम्वन्धित निकायले खाध्यान्न आपुर्तिका लागि पहल गरिदिन समेत स्थानियहरुले आग्रह गरेका छन् ।

उब्जनी नहुने उक्त क्षेत्रका मानिसहरुको मुख्य आम्दानीको स्रोत जडिबुटी, भेडापालन, यार्चागुम्बा भए पनि पछिल्लो समय वन नासिदै गएपछी जडिबुटी र भेडापालन व्यवसाय लोभ हुँदै गएपछी आर्थिक रुपमा उक्त क्षेत्रका मानिसहरु कम्जोर समेत बन्दै गएका छन् ।

न्युना जानेबाटोमा हिउँ परेका कारण ढुवानी गर्र्न खचड पछिल्लो समय भेडा समेत लोभ भएपछी खाध्यान्न ढुवानी गर्न समस्या भएको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चामल ढुवानिका लागि गाउँपालिकाले पेस्की समेत दिइसकेको छ । पहिला बाढीपहिरोले गर्दा सदरमुकाम चैनपुरमा समेत चामल ल्याउन ढिलाई भयो ।

बाटोमा हिउ परेपछी चामल ढुवानी गर्न समस्या भयो । अहिले न्युनाका लागि चामल ढुवानी गर्नका लागि खाध्य संस्थान र जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाबाट पत्र पठाएका छौ ।’

हिमपात भएको करिब ३ हप्ता सम्म अलिअली खानेकुरा भएपनि अब भने न्युनामा खानेकुराको निकै अभाव भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आफु भरखरै जिल्लामा आएकाले त्यो बारेमा थाहा नभएको र आज जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखहरु संगको भेटघाट तथा छलफलमा उक्त कुरा उठेकाले आफुले खाध्य संस्थान संग ढुवानीको लागि कुरा बुझेर पहल गर्ने बताउनुभयो ।

साईपाल गाउँपालिका वडानम्बर ५ की वडा सचिव सुम्निमा गिरीले भने खाध्य संस्थान संग हिमपातले भेडा, खचड बाट खाध्यान्न ढुवानी गर्न समस्या भएपछी बैकल्पीक बाटोबाट तथा हेलिकोप्टर बाट खाध्यान्न ढुवानी गर्न व्यवस्था गर्नका लागि पत्र पठाएको बताउनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १९:३२