सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा सम्पन्न

बाँके । नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा आइतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ ।

नेपालगञ्न उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ । नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ ।

नगरसभालाई सम्बोधन गर्दै मेयर डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताए । कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उनले ५ बर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताए ।

उनले विकास कार्य निरन्तर चल्ने भन्दै चालु आवका कार्यक्रम छिटो भन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधी र कर्मचारीहरुमा आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कार्यपालिकाका प्रबक्ता वडाध्यक्ष प्रमोद रिजालले गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतवार १७:३७