सूचनाको शक्ति - The Power Of Information

        

बहुपति प्रथा

‘हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ, हाम्रा छोराहरूले मानेनन्’

काठमाडौँ । नेपालका हिमाली जिल्लाहरु (हुम्ला, जुम्ला, डोल्पा, लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, ताप्लेजुङ) लगायतका जिल्लाका विभिन्न गाउँ बस्तीमा रहेको बहुपति प्रथा संस्कारमा निकै कमी आइरहेको पाइन्छ । बहुपति प्रथा भन्नाले परिवारमा प्रायःजसो जेठो भाइले मागेर वा मन पराएर विवाह गर्ने र अरू भाइले उनैलाई श्रीमती स्वीकार्ने चलन संस्कारको प्रथा हो ।

तर, पछिल्लो समय लोप हुँदै गएको यस प्रथाबारे बीबीसी नेपालीले हुम्लाका एक जोडीसँगको कुराकानी प्रस्तुत गरेको छ । बीबीसीका अनुसार तिब्बतको फ्याङ तुङगारबाट हुम्ला आएको बताउने चम्फासिंह लामाको परिवारमा १७ पुस्तासम्म बहुपति प्रथा चलेको थियो । तर अहिले उनका छोरा–नातिको पालादेखि भने यो चलन हटेको उनको भनाइ छ ।

हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ,’ उनले भने, ‘हाम्रा छोराहरूले मानेनन् । सबैले आ–आफैले विवाह गरे । सबै छुट्टिएर बसेका छन् । चार दाजुभाइकी एक्ली पत्नी छोडोल्माले चार छोरा र पाँच छोरीलाई जन्म दिएकी थिइन् । उनीहरूमध्ये कान्छा छोराबाहेक सबै छोराछोरीको विवाह भइसकेको छ ।

करिब दुई दशक अघिसम्म लामा समुदायमा घरघरै रहेको भनिएको बहुपति प्रथा पछिल्लो समय केही परिवारमा मात्रै सीमित हुन पुगेको लामा समुदायका अगुवाहरू बताउँछन् । ‘युवा पुस्ता शिक्षित भएपछि उनीहरूले यो चलन छाड्दै गएका छन्,’ सिमकोट बुरौँसेका राप्दान लामा भन्छन्, ‘पहिले अशिक्षित हुँदा धेरैको त्यस्तै थियो । अहिले सबै जना शिक्षित भए । त्यसैले बहुपतिको चलन पनि हट्दैछ ।’

काठमाडौँमा बसेर स्नातकोत्तर अध्ययन गरिरहेका युवा सांगे तंजन लामा समय परिस्थितिले नै बहुपति प्रथाको संस्कारमा परिवर्तन ल्याएको बताउँछन् । उनले भने, ‘शिक्षाले धेरै कुरा सिकायो । यो संस्कारलाई कैयौँले नराम्रो रूपमा लिएको पाइयो ।’ बहुपति प्रथामा भएका जटिलता र व्यक्तिगत स्वतन्त्रताले गर्दा पनि युवा पिँढीले यो संस्कारलाई निरन्तरता दिन नसकेको बताइन्छ ।

बहुपति प्रथामा जुन भाइले पहिला विवाह गर्छ, अरू दाइ भाइले पनि उनैलाई श्रीमती स्विकार्नुपर्छ । तर, कान्छो वा अरु भाइको उमेर ८–१० वर्ष वा त्योभन्दा बढी फरक भएमा उनीहरूलाई एकल विवाह गर्ने छुट छ । लामा समुदायमा प्रायजसो जेठो भाइले मागेर वा मन पराएर विवाह गर्ने र अरू भाइले उनैलाई श्रीमती स्वीकार्ने चलन रहँदै आएको थियो ।

केही बर्षयता भने शिक्षा र चेतनाको विकाससँगै एउटै श्रीमती हुँदा दाजु–भाइबीच हुने मनमुटाव र झगडाले गर्दा पनि यो चलन हट्दै गएको लामा समुदायका अगुवाहरू दाबी गर्छन् । पहिला धेरै भेडा बाख्रा, च्याङ्ग्रा, चौँरी पाल्ने र व्यापार व्यवसायको लागि भोट–मधेस गर्ने चलन थियो । त्यो बेला एउटा भाइ व्यापारमा, अर्को भेडी गोठमा, कोही कतै कोही कतै हुने भएकोले एउटै श्रीमती विवाह गरे पनि दाजुभाइहरू सधैँ सँगै बस्न पाउँदैनथे ।

‘फरक–फरक ठाउँमा बस्ने भएकोले घरमा पालोअनुसार आउने गर्थे,’ ८० बर्से चम्फासिं लामा भन्छन्, ‘अहिले पशुपालन र व्यापार व्यवसाय गर्न बाहिर जानुपर्दैन ।’ सबै दाजुभाइ सँगै बस्दा मनमुटाव हुने भएकोले पनि अहिले धेरै युवाहरूले बहुपति प्रथा त्यागेर एकल विवाह गर्न थालेको बताइन्छ । लामा समुदायमा चिन्डोमा छ्याङ (जाँडको झोल) लिएर केटी माग्न जाने चलन छ ।

चिन्डोबाहेक अन्य भाँडामा छ्याङ लिएर केटी माग्न गए कम मान्यता हुने राप्दान लामा बताउँछन् । ‘छोरी दिन्छन् भन्ने पूर्ण विश्वास भएका घरमा मात्रै केटा पक्ष केटी माग्न जान्छन्,’ उनी भन्छन्, ‘तर कहिलेकाहीँ विश्वास गरेकै घरले छोरी दिँदैनन् ।’ बहुपति झेलेका महिलाहरूको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आउने र भाइहरूबीचको झगडाले कहिलेकाहीँ पीडा खेप्नु परेको बताइन्छ ।

बहुपति प्रथामा महिलाले जस्तै पुरुषहरूले पनि विभिन्न समस्या खेप्ने गरेको उनीहरू बताउँछन् । मन परेको भाइसँग श्रीमती बस्दा अरू भाइहरूले बुढेसकालमा दुख पाउने गर्छन् । बहुपति प्रथामा घरको मुली श्रीमती हुने र उनले नै श्रीमान्हरूलाई काममा खटाउने गर्छिन् । सन्तानहरू जुन दाजुभाइको भए पनि नागरिकतामा भने बाबुको रूपमा जेठो भाइको मात्र नाम राख्ने चलन छ । लामा समुदायका अगुवाहरू चलअचल सम्पत्ति बाँड्नु नपर्ने, कामको बोझ कम हुने भएकोले पूर्वजहरूले बहुपति प्रथा अपनाएको दाबी गर्छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतवार १५:३७