सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित १० जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको होटल बुलबुले भ्यु टु को कोठा नं. २०६ , २०३  र वीरेन्द्रनगर बजार एरिचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उक्त स्थानमा लागू औषध कारोबार भइरहेको भन्ने सूचना थाहा पाएपछि प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना वीरेन्द्रनगरका, ४ जना दैलेख र एक जना कालिकोटमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने वर्ष ३० को सुमन खत्री, २२ वर्षका कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ बस्ने वर्ष २३ को रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा  रहेका छन्।

त्यस्तै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, नानपा ११ का २९ वर्षीय सागर चन्द, ८ बस्ने वर्ष २३ को क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने  वर्ष २४ को डम्बर खड्का छन् ।

यस्तै कालिकोट महाबै गाउँपालिका –३ बस्ने वर्ष २२ को  जीवन सिंह पनि पक्राउ परेको प्रहरीले जनाएको छ।  कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्युरोबाट खटिएका टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी  टोलीले ६३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम  र गाँजाको धुलो ३२ ग्राम सहित बरामद गरिएको सूचना अधिकारी घर्तीले बताए ।

विशेषगरी उक्त होटेल रहेको क्षेत्र (बसपार्क क्षेत्र)मा लागु औषधको कारोबार बढी हुने गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : २ माघ २०७८, आइतवार ०७:४४