बाँके । स्थानीय सरकारको विकास तथा सुशासनको नजिता प्रकाशनमा बाँकेको जानकी गाउँपालिका नेपालमै तेस्रो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (लिसा)को सूचक अनुसार नजिता प्रकाशनमा जानकी नेपालमै तेस्रो भएको हो ।
अन्य स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याड्कन प्रशिक्षण गरे पनि सोको नतिजा प्रकाशन गर्न नसकेका बेला देशभरका ७५३ स्थानीय तहलाई उछिन्दै जानकी गाउँपालिका नेपालकै तेस्रो तथा लुम्बिनी प्रदेश र बाँके जिल्लाकै पहिलो गाउँपालिका बनेको छ ।
जानकी गाउँपालिकाले १०० अंकभारमा जम्मा प्राप्ताङ्क ७०.२५ प्रतिशत अंकभारसहित नतिजा प्रकाशन गरेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत बिकास जिसीले सत्यपाटीलाई जानकारी दिए । उनले भने, ‘जानकी देशकै तेस्रो तथा प्रदेश र जिल्लाकै पहिलो स्वमूल्याड्कन नतिजा प्रकाशन गर्ने पालिका भएकोमा खुशी छौं ।’
गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले लिसाको कार्यविधिमा व्यवस्था गरिएका १० वटा विषयगत क्षेत्रमध्ये ३ वटा तहमा जानकी देशकै तेस्रो र प्रदेश तथा जिल्लामै पहिलो हुनु गर्वको विषय भएको बताए । उनले भने, ‘गत बर्षको तुलनामा यस बर्ष सोंचेजस्तो नतिजा आउँदा खुशी भएका छौं ।’
जानकी गाउँपालिका देशभर तेस्रो तथा प्रदेश र जिल्लामा पहिलो भएकोमा खुशी व्यक्त गर्दै प्रमूख प्रशासकीय अधिकृत रानाले आगामी दिनमा उत्कृष्ठ गाउँपालिका बनाउन सबै कर्मचारीहरु दतचित्त भएर लाग्ने पनि बताए । उनले भने, ‘गत बर्षभन्दा यस बर्ष धेरै राम्रो गरेका छौं । आगामी बर्ष हामी देशकै पहिलो पालिका बन्छौं ।’
जानकीले १०० अंकभारमा जम्मा प्राप्ताङ्क ७०.२५ प्रतिशत ल्याएको छ भने समग्र स्थिति ७०.२४ प्रतिशत, प्रक्रियागत स्थिति ६१.७६ प्रतिशत र परिमाणात्मक स्थिति ७६.६७ प्रतिशत अंक छ । काम गर्ने समयमा कोरोनाले समस्या भोग्नुपरे पनि यो ठूलो उपलब्धि भएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले बताइन् ।
उनले भनिन्, ‘देशकै तेस्रो र प्रदेश तथा जिल्लामै पहिलो गाउँपालिका भएको छ । पालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई शुभकामना दिन्छु । आगामी बर्ष जानकीलाई पहिलो बनाउन सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको भूमिका अझ महत्वपूर्ण छ । उहाँहरुको मेहनतले आगामी बर्ष जानकी देशकै पहिलो स्थानीय तह बन्नुपर्छ ।’
संघीय सरकारले स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार देशभरका सबै स्थानीय तहले आफुले गरेका कामको आफै समीक्षा गर्नुपर्ने नीतिगत प्रावधान अनुसार नजिता प्रकाशनमा देशकै तेस्रो र प्रदेश तथा जिल्लामै पहिलो गाउँपालिका बनेर बाँकेका अन्य स्थानीय तहभन्दा जानकी प्रदेश तथा जिल्लाकै अब्बल पालिका बनेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याड्कन कार्यविधि, २०७७ ले हरेक पालिकाले पुस मसान्तसम्म गत आर्थिक वर्षको संस्थागत क्षमता स्वमूल्याड्कन गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त कार्यविधि अनुसार स्वमूल्याड्कन नतिजामा ८० अङ्क भन्दा वढी उत्कृष्ट, ६० देखि ७९ सम्म राम्रो, ४० देखि ५९ सम्म कमजोर, ४० भन्दा कम अति कमजोर मानिन्छ
।