सूचनाको शक्ति - The Power Of Information

        

नरभक्षी बाघ खोजी अभियान

जंगलमा छाडिएका पाडा नखाँदा नियन्त्रणमा आएन ‘नरभक्षी बाघ’

प्राविधिक टोली जंगलमै, स्थानीयमा त्रास कायमै

बाघको खोजीमा खटिएको प्राविधिकसहितको टोली ।

बाँके । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा ‘नरभक्षी बाघ’ले आतंक मच्चाइरहेको छ । ‘नरभक्षी बाघ’ नियन्त्रणमा लिनका लागि तीन दिनदेखि जंगलमा तीन वटा भैंसीका पाडा छाडिएको छ, तर बाघले खाइदिएको छैन । पाडा नखाइदिँदा बाघलाई नियन्त्रणमा लिन सकिएको छैन ।

बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली पनि दुई दिनदेखि जंगलमै बसेर बाघ नियन्त्रणका लागि सक्रिय भइरहे पनि बाघले पाडा नखाँदा नियन्त्रणमा आउन नसकेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले बताए ।

उनका अनुसार प्राविधिक टोलीले मंगलबार राती पनि सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर राखेको थियो । त्यो रात पनि बाघ त्यस क्षेत्रमा आएको थिएन । बुधबार राती पनि दुई वटा पाडो बाँधेर पाइला फेला परेको क्षेत्रमा टोली बसेकोमा बाघ सो क्षेत्रमा नआएको पनि सूचना अधिकारी खड्काले बताए ।

फत्तेपुरस्थित मानव बस्तीदेखि करीब पाँच किलोमिटरभित्र जङ्गलमा बाघको हालसालको पाइला फेला परे पनि बाघ भने अझै फेला नपरेको सूचना अधिकारी खड्काले बताए । उनका अनुसार पाडो छाडिएका स्थानमा बाघ नआएकोले अब सो नजिकका अन्य क्षेत्रमा समेत अध्ययन गरी प्राविधिक टोलीले खोजी गर्न शुरु गरेको छ ।

बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले हालसालकै पाइला भेटे पनि बाघ नदेखिनुलाई आश्चर्यजनक रुपमा लिएको छ । बाघ धेरै टाढा नगएको हुनुपर्ने जनाउँदै टोलीले विहिबार पाइला पछ्याउँदै खोजी गरिरहेको सूचना अधिकारी खड्काले बताए ।

बाघ नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर ब्यवस्थापन गरिने जनाइएको छ ।

बाघ नियन्त्रणमा नआउँदा सो क्षेत्रका स्थानीयमा डर र त्रास कायमै रहेको छ । फत्तेपुर र सो वरिपरिका क्षेत्रका अधिकांश सर्वसाधारण घरबाट बाहिर निस्कन डराइरहेका छन् । उनिहरु बेलुका ५ बज्ने वित्तिकै आँगनमा आगो बालेर घरमा चुकुल लगाएर बस्ने गरेको र दिसापिसाब गर्न समेत बाहिर ननिस्कने गरेको वडा नं.६ का वडाध्यक्ष जनक थारुले बताए ।

बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । सो बाहेक त्यस क्षेत्रमा एक दर्जन जति नागरिक कि भागेर कि रुखमा चढेर बाघको आक्रमणबाट जोगिन सफल भएका छन् ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार ०८:५३