सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा १० दिनमा थपिए १५ हजार बढी संक्रमित, निको र मृतक कति ?

११ हजार ६१० जना मानिसहरुले ज्यान गुमाए

काठमाडौँ । नेपालमा पछिल्लो १० दिनयता कोरोना संक्रमणका बिरामी संख्या ह्वात्तै बढेका छन् । केही साता अघिसम्म दैनिक चार सयको वरिपरि रहेको कोरोना संक्रमण संख्या यतिबेला बढेर ३ हजार ५०० पुगेको छ ।

गएको १० दिनमा मात्रै १५ हजार २०२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पुस १९ गतेदेखि कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

पुस १९ गते देशभरका ३२६ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । यो संख्या बढेर २० गते ३९३ जना पुगेको थियो । त्यस्तै २१ गते ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङकले देखाएको छ ।

त्यसतै २२ गते ५४० कोरोनाका नयाँ बिरामी थपिएका थिए । २३ गते उक्तसंख्यामा करिब ४०० ले बढेर ९६८ जना कोरोनाका नयाँ विरामी थपिएका थिए ।

गत पुस १९ गतेबाट बढेको कोरोना संक्रमितको संख्या अहिले दैनिक बढिरहेको छ ।

त्यस्तै पुस २४ गते ९४४ जना, २५ गते १ हजार १६८ जना, २६ गते १ हजार ४४६ जना, २७ गते २ हजार ४४४ जना, २८ गते ३ हजार ७५ जनामा र बिहीबार २९ गते ३ हजार ५५३ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् । यो दश दिनमा देखिएको कोरोना संक्रमितको संख्या करिब डेढ महिनाअघिबाट दिएको कोरोना संक्रमितको संख्या भन्दा धेरै हो ।

नेपालका कोरोना संक्रमण देखिएदेखि हालसम्म ८ लाख ४१ हजार २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने निको हुनेको संख्या पनि ८ लाख १५ हजार ३४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना महामारीमा परी पुस २९ गतेसम्म ११ हजार ६१० जना मानिसहरुले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जारी गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार ०८:२९