सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बिहीवार ६५ जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा बिहीवार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९३ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४३ नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्यावमा २२ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २३ जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ५ सय ९७ पुगेको छ । नेपालगन्ज, कोहलपुर र बैजनाथ गाउँपालिकाका संक्रमित धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

यस्तै आज ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ५९ पुगेको छ । यस्तै जमुनाहा नाकामा पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा थप २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैबीच नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाहा नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरेपनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।

पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना संक्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए ।

कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १९:१३