सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

राजनीतिसँगै पूर्वमन्त्री ‘कृषि उद्यमतिर’

बाँके । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद इश्तियाक राई कृषि उद्यमतिर लागेका छन् । पछिल्लो समयमा राजनीतिसँगै उद्योग, ब्यवसायमा पनि सक्रिय भइरहेका राई बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसद समेत हुन् ।

राईले यसअघि शहरी विकास मन्त्री र श्रम तथा यातायात मन्त्री भएर काम गरिसकेका छन् । पूर्वमन्त्री राई र उनका परिवारका सदस्यले मिलेर एक अर्ब ३० करोड रुपैयाँको लगानीमा अत्याधुनिक दाना उद्योग, कुखुरापालन र चल्ला उत्पादन सुरु गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्तामा ४० कट्ठामा ६५ करोड रुपैयाँ लगानीमा किसान फिड मिल नामको अत्याधुनिक दाना उद्योग र ९० कट्ठामा ५० करोड रुपैयाँ लगानीमा रजा ग्रुपको नामबाट कुखुरापालन तथा २० करोड रुपैयाँको लगानीमा अरहाम ह्याचरी फार्म सञ्चालन अगाडि बढाइएको हो ।

ती उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने तथा कुखुराको मासु र चल्लाको पनि समस्या नहुने दाबी पूर्वमन्त्री इश्तियाक राईको छ । उद्योगले नौ हजार क्विन्टल क्षमताको गोदाम निर्माण गरेको सञ्चालक कामरान राईले बताए ।

अत्याधुनिक दाना उद्योगले एक घण्टामा १०० क्विन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक राईले आवश्यक परेमा दैनिक एक हजारदेखि एक हजार २०० क्विन्टलभन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताए । उनले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको जनाए ।

दानाको समस्या समाधान भएपछि अब यस क्षेत्रमा कुखुरापालन, माछापालन र पशुपालनमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । उद्योगले उत्पादन तथा विक्री वितरणको काम सुरु गरिसकेको पनि जनाएको छ । आफ्ना तीन वटै उद्योग सञ्चालनमा आएपछि मासु, कुखुरा र अण्डामा नेपाल आत्मनिर्भर हुने सञ्चालक एवम् पुर्वमन्त्री राई बताउँछन् ।

उनी भन्छन्, ‘अहिले दाना, कुखुरा र अण्डामा हाम्रो देश परनिर्भर छ, बाँके जिल्लामै दाना, कुखुरा र अण्डा बाहिरी जिल्लाको खपत हुन्छ ।’ राईका अनुसार उद्योगले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेको छ । किसान फिडले कुखुरा, माछा र पशुका लागि आवश्यक पर्ने सबै प्रकारका दाना उत्पादन गर्नेछ । पूर्वमन्त्री राईका ६ जना दाजुभाई मिलेर यी उद्योग स्थापना गरेका हुन् ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार ०८:२६