सूचनाको शक्ति - The Power Of Information

        

कुन–कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ ?

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेको छ ।

अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेको हो ।

सरकारले ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई १६ मंसिरदेखि नेपाल प्रवेशमा रोक लगाइसकेको छ ।

जुन निर्णय अहिले पनि यथावत् छ ।

ती देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा सरकारले विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागले जनाएको छ ।

खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार ०८:११