सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक ठाउँ र गाडीमा मास्क अनिवार्य, भेला र महोत्सवमा रोक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको जोखिम घटाउन राजनीतिक भेला र मेला महोत्सव गर्न रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशअनुसार सार्वजनिक गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ । घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।

अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदो माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

यस्तै पालिकासँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ ।

शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ ।  सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने प्रशासनले जनाएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार ०९:५९