सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकामा खटिएका दुई स्वास्थ्यकर्मीमा कोरोना

फाइल तस्वीर

बाँके । नेपालगञ्जको जमुनाहा नाका हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । एकजना ल्यावमा कार्यरत कर्मचारी र अर्का पारामेडिक्स कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्कमा खटिएका कर्मचारीमा भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्यकर्मीको अभाव भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ ।

त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ । प्रहरीले कोरोना जाँच गरेर मात्रै जान भनेपछि भारतबाट आएकाहरू घण्टौँ लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन् ।

दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ । सानो ठाउँ छ । लाइन लाग्दा लामो र भीड देखिन्छ। कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको चाप बढी छ ।

भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ । यतिबेला नाकामा सबैमा ओमिक्रोन देखिएको छ।

नेपालगञ्ज नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बालमन्दिरको आइसोलेसनमा ल्याउने गरिएको छ ।आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १७:१३