काठमाडौं । तयारी कपडाको मूल्य अत्याधिक बढेको छ । गएको वर्षको तुलनामा तयारी कपडामा २० प्रतिशतदेखि शत प्रतिशतसम्म मूल्य बढेको काठमाण्डौको कोटेश्वरमा कपडा व्यापार गर्ने विनोद दाहालले बतानुभयो ।
होलसेल पसलमै मूल्य बढेको कारण आफूहरुलाई बिक्री गर्न समेत समस्या भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष उस्तै कपडा किनेका ग्राहक यो वर्ष मूल्य सुन्दा आत्तिने गरेका उहाँले बताउनुभयो ।
कोरोना महामारी सुरू भएयता अन्तर्राष्ट्रिय बजारमा मजदुरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
हिजो राष्ट्रिय व्यापार सङ्घले काठमाण्डाैमा आयोजना गरेको १७औँ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशनमा नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्याधिक रूपमा बढेको बताउनुभयो ।
उहाँका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान आयात गर्दा चीनतर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याइ पुर्याउन २२ किलोमिटर दूरीमा प्रतिगाडी भाडादर चार लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ ।
यसले गर्दा कपडाको मूल्य झण्डै ५० प्रतिशत बढेको श्रेष्ठले बताउनुभयो ।
।