काठमाडौं । देशभरका सम्पूर्ण आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी माघ १५ गतेसम्मका लागि ‘हिउँदे बिदा’ दिन सिफारिस गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार सम्पन्न बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको १३ बुँदे निर्णयमा यस्तो सिफारिस गरेको हो ।
बैठकले हिउँदे बिदा अवधिभर १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी र लगाउन बाँकी १८ वर्षभन्दा माथिको उमेर समूहका शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र मुख्य सचिव शङ्कर दास बैरागीले विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग छलफल, राय सुझाव, सल्लाह गरेका थिए ।
त्यसपछि बसेको बैठकले माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न जाँदा खोप कार्ड अनिवार्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सबै अभिभावक वर्गमा छोरा–छोरीलाई विद्यालय नपठाउन अनुरोधसहितको सूचना जारी गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक खोप आपूर्ति व्यवस्था तथा जिल्ला खोप समन्वय समितिलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिँदै केन्द्रदेखि गाउँस्तरसम्म यससम्बन्धी सचेतनामा जोड दिएको छ ।
विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानबाट सञ्चालित पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुने गरी परीक्षार्थीलाई ‘जेड’ आकारमा बसाइ आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । उक्त परीक्षा केन्द्रमा मास्क तथा सेनिटाइजनको प्रयोग अनिवार्य र भौतिक दूरी कडाइका साथ परिपालना गर्नुपर्नेछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाइ माघ ३ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुनेलाई मात्र हवाई सेवा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिइरहेको सन्दर्भलाई दृष्टिगत गरी सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामान छिटोछरितो खरिद तथा आपूर्ति व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको छ ।
सबै प्रकारका राजनीतिक गतिविधि, प्रशासनिक कामकारबाही, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्नसमेत आह्वान गरिएको छ । यस्तै अर्को सूचना नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुने गरी भोज, मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत परिपत्र लेखी पठाउन सिफारिस गरिएको छ ।
सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाई यात्रा र पार्क आदि क्षेत्रमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गरिएको छ । ‘ट्राभल एड्भाइजरी’ जारी गर्दा पूर्ण मात्रा खोप लगाएको र बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रुलाई नेपाल प्रवेशका लागि अनुमति दिन अध्यागमन विभागलाई निर्देशन दिएको छ ।
सोहीअनुसार सम्बन्धित वायुसेवा कम्पनीलाई बोडिङ पास जारी गर्ने व्यवस्था मिलाउन सीसीएमसीसीको निर्णयमा उल्लेख गरिएको छ । अध्यागमन विभागलाई ट्राभल एड्भाइजरी जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने निर्देशन दिइएको छ ।
ओमिक्रोन सङ्क्रमण पहिचान भएका दक्षिण अफ्रिकालगायत नौ देशबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक नियोग तथा अफिसियल कर्मचारीका लागि क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था लागू गर्न सिफारिस गरिएको छ ।
सङ्क्रमणको जोखिम हेरी ‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रो कथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिएको छ ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि नागरिकस्तरमा सकारात्मक सूचना तथा स्वास्थ्य शिक्षासम्बन्धी जानकारीमूलक सामग्री उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ ।
कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत प्रदेश सरकार र स्थानीय तहलाई विगतमाझैँ आवश्यक सहयोग तथा सहजीकरण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको छ ।
नाकाहरूमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाइनेछ । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गरी परीक्षण र खोपलाई अभियानकै रूपमा अगाडि बढाउन बैठकले निर्देशन दिएको छ ।
सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस :
।