सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बाघ आतङ्क

बाघको आक्रमणबाट मारिएकी चाँदनीको घरछेउमै पुग्यो ‘नरभक्षी बाघ’

फाइल तस्वीर

बाँके । हिजो शनिबार राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु नरभक्षी बाघको शिकार भइन् । घाँस काट्न जंगल गएकी उनलाई बाघको आक्रमणबाट मारिएकी थिइन् ।

आज आइतबार साँझ ८ बजेतिर नरभक्षी बाघ मृतक चाँदनीको घर छेउमै आइपुगेको छ । बाघको आक्रमणपछि मृतक चाँदनीको शवलाई हिजै घर ल्याइएको थियो । उनको दाहसंस्कार समेत भइसकेको छ ।

मृतक चाँदनीलाई घर ल्याउने क्रममा उनी रक्ताम्ये रहेको र शरीरबाट उनको रगत बाटोमा चुहिएको हुनसक्ने र सो रगत सुँघ्दै नरभक्षी बाघ उनको घरछेउ नजिकै पुगेको त्यहाँका स्थानीयहरु बताउँछन् ।

घरभन्दा ५० मिटर पारिपट्टी साँझ ८ बजेतिर नरभक्षी बाघ देखिएपछि मृतक चाँदनीको घरमा जाग्राम बसेका स्थानीयहरुले हो–हल्ला गरेपछि नरभक्षी बाघ भागेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले सत्यपाटीलाई बताए ।

राप्तीसोनारी गाउँपालिकाको विभिन्न जङ्गल क्षेत्रमा नरभक्षी बाघले मान्छे खान थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् । केही महिना अघिसम्म राप्ती नदीवारि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने नरभक्षी बाघ अहिले राप्तीपारि पुगेको छ ।

राप्तीवारिको नरभक्षी बाघ राप्तीपारि अर्थात् राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र नरैनापुर गाउँपालिकाका बन क्षेत्रमा देखिन थालेको छ । नरभक्षी बाघले स्थानीयहरुलाई गाउँ बस्तीमै झम्टिन थालेको छ ।

जङ्गलमा घाँस दाउरा गर्न गएकी चाँदनीलाई नरभक्षी बाघको आक्रमणबाट मारिएपछि स्थानीय त्रसित बनेका छन् । त्यसअघि शुक्रबार मात्रै बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो ।

जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनीहरुलाई बाघले मारेको हो । बाँकेमा तीन महिनाको अवधिभित्र नरभक्षी बाघले चार जनाको शिकार गरिसकेको छ । विभिन्न कामले जङ्गलमा गएका नागरिक तथा पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ ।

बाघको आक्रमण बढ्न थालेपछि राप्तीसोनारी क्षेत्रका स्थानीय नागरिकहरु त्रसित छन् । बाघ आतङ्क बढेपछि बाघ नियन्त्रण गर्न सरकारी निकायहरु अभियान बनाएरै लागेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्दै छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीतिर प्रवेश गरिरहेका छन् ।

निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको छ । बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीयले अनाहकमा ज्यान गुमाइरहेका छन् ।

बाघ संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको सङ्ख्या बढे पनि निकुञ्जमा आहाराको कमी हुँदा मानव बस्तीमा पुगेर बाघले आक्रमण गर्न थालेपछि त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार २१:१८