सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

बाँके । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धबप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिद्वन्दी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

उनी यसअघि कार्यवहाक अध्यक्ष थिए । श्रेष्ठले २०६ मत र उपाध्यायले १३९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य बाहेक सबै पदमा श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ ।

खुला उपाध्यक्षमा बेदेश्वर गौतम १८९ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्दी पिताम्बर आचार्यले १३९ मत पाए । समावेशी उपाध्यक्षमा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए ।

उनले १९१ मत पाउँदा दयाराम चौधरीको १५२ मत आएको छ । सचिवमा पवन बुढा १९४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्दी लोकेन्द्र चन्दले १३९ मत पाए । कोषाध्यक्षमा श्यामबहादुर शाही निर्वाचित भए ।

शाहीले १९१ मत पाएका छन् । प्रतिद्वन्दी रमेशकुमार रेग्मीको ११५ मत आएको छ । यस्तै चार जना निर्वाचित हुने खुला सदस्यहरुमा दिप कुमार मल्ल, भिम बहादुर ठाडा मगर, पवनराज भट्ट र प्रकाश पाण्डे निर्वाचित भए । ठाडा मगर भने उपाध्याय प्यानलका हुन् ।

दुई जना निर्वाचित हुने समावेशी सदस्यमा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भए । केन्द्रिय प्रतिनिधि खुलामा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए ।

हिजो विहान १० बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको थियो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो । शुक्रबारदेखि सुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

केही पदहरुमा भने निर्विरोध भइसकेको थियो । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी थिइन् । एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका थिए ।

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी थिइन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका थिए ।

नबनिर्बाचित अध्यक्ष श्रेष्ठलाई निजामती कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष जागेश्वर बस्नेत, राजेश सेनसहितको स्वास्थ्यकर्मी संघ, राप्तीसोनारी गाउँपालिकाका युनियन अध्यक्ष गौरव लामिछाने सहितका नेताहरुको समर्थन रहेको थियो ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार १७:५०