सूचनाको शक्ति - The Power Of Information

        

डडेल्धुरामा ११ पदमा एमालेले उम्मेद्वार नै पाएन

काठमाडौं । नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । यसैगरी, एक उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा केशव बोहरा, खड्कबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै, एक सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, दुई उपसचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ । यस्तै, खुला सदस्य १९ र महिला १० गरी २९ पदका लागि ५८ जनाको उम्मेदवारी परेको छ ।

भौगोलिक क्षेत्रबाट नगरपालिका क्षेत्रमा दुई नगरपलिकामा १० जना खुला र ६ जना महिला गरी १६ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका क्षेत्रमा १५ जना खुला र १० जना महिला गरी २५ पदका लागि २४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र रोकायाले जानकारी दिए ।

दलित सदस्य (८ खुला र ४ महिला गरी) १२ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक खुला र एक महिला गरी दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, घाइते अपाङ्गतर्फ एक पदका लागि एक जना (बमबहादुर थापा मगर)को मात्रै उम्मेदवारी दर्ता भएको छ ।

११ पदमा उम्मेदवार भएनन्

सार्वजनिक नामावली अनुसार एमाले डडेल्धुराले ११ पदमा उम्मेदवार नै पाएको छैन । खुला सदस्यतर्फ महिला १० जना हुनुपर्नेमा पाँच जनाको मात्र उम्मेदवारी परेको छ । भौगोलिक क्षेत्र अन्तर्गत प्रत्येक नगरपालिकाबाट पाँच खुला र तीन महिला हुनुपर्नेमा अमरगढी नगरपालिकाबाट एक जना मात्र महिलाको उम्मेदवारी परेको छ । दुई जनाको उम्मेदवारी परेको छैन ।

यसैगरी, अजयमेरु गाउँपालिकामा तीन जना खुला र दुई जना महिला हुनुपर्नेमा खुलातर्फ दुई जनाको मात्रै उम्मेदवारी परेको र एक जनाको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ । भागेश्वर गाउँपालिकामा दुई महिला सदस्य पदका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ । दलित महिला सदस्य चार पदका लागि दुई जनाको उम्मेदवारी परेको र दुई जनाको उम्मेदवारी नै नपरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार १४:५६