बाँके । बाँकेको राप्तीसोनारीमा बाघको आतङ्क अत्यधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका छन् ।
उनले सङ्घीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताए ।
बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगन्ज आइपुगेको सहायक वन अधिकृत खड्काले बताए ।
उनका अनुसार टोलीले नेपालगन्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गरेको छ । स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रसारण गरेर स्थानीय बासिन्दालाई जङ्गलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
यसैबीच, बाँके निकुञ्जले पनि राप्तीसोनारीमा बाघ धपाउन थप हात्ती र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यसअघि पनि दुई वटा हात्तीलाई निकुञ्जले पठाएको थियो । दुई दिनमै बाघले राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अत्यधिक त्रसित भएका छन् ।
राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनीहरुलाई बाघले मारेको हो ।
योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले चार जनाको ज्यान लिइसकेको छ । विभिन्न कामले जङ्गलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ । बाघको आक्रमण बढ्न थालेपछि राप्तीसोनारी क्षेत्रका स्थानीय नागरिकहरु त्रसित बनेका छन् ।
।