सूचनाको शक्ति - The Power Of Information

        

उपत्यकामा स्मार्ट लकडाउनको तयारी, कुन कुन क्षेत्रमा होला लकडाउन ?

काठमाडौं ।  कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो ।

काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आज तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्नेरस्वास्थ्य मन्त्रालयसँग समेत छलफल हुने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

यस्तै आज आईतबार सीसीएमसीको बैठक पनि बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले पनि आईतबार नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ ।

त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर ३ वटै जिल्लाका सीडीओहरुले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ रिजालले बताउनुभयो । एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताउनुभयो ।

शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताउनु भएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार ०९:२७