सूचनाको शक्ति - The Power Of Information

        

अपराधिक क्रियाकलाप रोक्न चैनपुर बजारमा सिसि क्यामेरा आवश्यक : डिएसपी विष्ट

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हुने अपराधिक क्रियाकलाप रोक्न सिसि क्यामेरा जडान गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर बिस्टले बताउनु भएको छ ।

बजार क्षेत्रमा रहेका युवा युवतीहरु लागु औषधको कुलतमा फसेको र अपराधिक गतिबिधि बढेकाले त्यसको निगरानिको लागी बजार क्षेत्रका बिभिन्न नाकाहरुमा सिसि क्यामरा राख्नु आवश्यक रहेको समेत डिएसपी विष्टको भनाई छ ।

बजारमा अहिले चोरीका घटनाहरु बढेकाले उक्त चोरी तथा अपराधिक घटनाहरुलाई कम गर्नको लागी सिसी क्यामेरा बजारमा जडान हुनुपर्ने स्थानियहरुले समेत बताएका छन् ।

आफुहरु राती कोठामा सुतेका बेला पसलमा कहिलै ताला फोरेको त कहिलै सामान चोरेको हुने र बजारमा रातभरी मदिरा खाएर होहल्ला गर्ने गरेकाले सिसि क्यामेरा जडानहुन आवश्यक रहेको आरजे मोबाइल ग्यालरीका संचालक जनक धामीले बताउनुभयो ।

आफुहरुले सिसी क्यामेरा नहँुदा कस्ले चोरेको हो,कसरी चोरी भयो भन्ने थाहा नहुने र बजारमा पसलहरु बेलाबेलामा चोरी हुने गरेको स्थानीय व्यापारीले बताउने गरेका छन् ।

सदरमुकाम चैनपुरमा सिसि क्यामेरा आवश्यक भएपनि अहिले सम्म सिसि क्यामेरा जडान भएको छैन । दिन प्रतिदिन सदुमुकाम चैनपुरमा लागु औषधमा फसेका युवायुवतिले अपराधिक क्रियाकलाप देखिएपनि नियन्त्रण हुन सकेको छैन । चोरीका घटनाहरु बढ्दै गएको भए पनि नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बजारमा दैनिक चोरी, झैझगडा जस्ता गतिबिधी बढे पछि त्यसको निगरानी गर्न सिसि टिभी क्यामरा जडान गरिनु पर्ने स्थानिय व्यापारीहरुले बताएका छन् । अन्यन्त्र नभए पनि बजारका मुख्य मुख्य चोकहरुमा सिसि क्यामेरा जडान गरिनु पर्ने स्थानिय व्यापारी विरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुको भनाइ छ । सदरमुकाम चैनपुर बजारमा सडक बत्ति जडान भएका स्थानहरुमा आवश्यकता अनुसार सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज हुने प्रहरीहरुले बताएका छन् ।

यता जयृथ्वी नगरपालिका प्रमुख विरेन्द्र बहादुर खड्काले भने यस विषयमा छलफल भैरहेको र चाँडै सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान गरिने बताउनुभयो ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार १८:५८