सूचनाको शक्ति - The Power Of Information

        

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी : चार जना पक्राउ

काठमाडौं । बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् ।

खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए ।

सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा खत्रीमाथि नै शङ्का लागेपछि पक्राउ परेका थिए । अनुसन्धानपछि मिलेमतोमा नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले चोरीमा संलग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने २४ वर्षका विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको हो । उनीहरू चार जनाले पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ फेला परेको र दुई लाख ८२ हजार रुपैयाँ भने खर्च गरेको खुलेको छ ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार ०८:३०