सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाद्वारा डुडुवा ६ मा न्यानो कपडा वितरण

बाँके । नेपाली सेनाले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लब र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले संयुक्तरुपमा मंगता टोलमा कम्बल तथा खाद्यान्न वितरण गरेको हो ।

मंगता टोलमा अधिकांशले मागेर गुजारा चलाउँछन् । चिसोमा उनीहरुलाई समस्या नहोस भन्ने उद्देश्यले कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको हो ।

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघ समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र पत्नी प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र पत्नि प्रतिमा अधिकारी, वेष्टर्न अस्पतालका सञ्चालक डा.कल्पना थापा, छोरा राहुल थापा, श्री नम्बर ४ अड्डाका मेजर दीप श्रेष्ठ र पत्नी लक्ष्मी श्रेष्ठले मंगता टोलका ७० घर परिवारलाई एउटा कम्बल, दुई किलो चामल र दुई वटा बिस्कुट बितरण गरेका थिए ।

सो अवसरमा सहायक रथी पाठकले सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहन मिश्रले नेपाली सेनालगायतले टोलमै आएर सहयोग गरेकोमा धन्यबाद दिए ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १७:०२