सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना खोप नलगाउनेको अवस्था गम्भीर

फाइल तस्वीर

बाँके । कोरोना भाइरसविरुद्धको एउटा मात्रै डोज खोप लगाएका र खोप नै नलगाएका कोरोना संक्रमितको अवस्था गम्भीर देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालका अनुसार कोरोनाविरुद्धको एक डोज मात्र लगाएका र खोप नै नलगाएका सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर भएको हो ।

भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा.राजन पाण्डेले कोरोनाविरुद्धको खोपको दुवै मात्रा नलगाएका र एउटा मात्र खोप लगाएकाको स्वास्थ्य अवस्था जटिल बन्ने गरेको बताए । उनले खोपका दुवै मात्रा पूरा गरेका व्यक्तिमा सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य हुने गरेको र उपचारपछि निको हुने गरेको बताए ।

कोरोनाको पहिलो लहरदेखि नै बाँके ‘हट स्पट’ बन्दै आएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा.सङ्केत रिसालले भने, ‘खोपको पूरै मात्रा लिएका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ तर उनीहरूलाई अक्सिजन दिनुपरेको छैन, एक डोजमात्रै लिएका व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्युसमेत भइरहेको छ ।’

उनका अनुसार भेरी अस्पतालमा पछिल्लो एक महिनामा ६० जना सङ्क्रमित उपचारका लागि भर्ना भएकोमा एक डोजमात्रै खोप लगाएका पाँच जनाको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जिल्लामा कोरोनाको खोप लिने उमेर समूहका चार लाख ७० हजार नागरिक रहेको बताए ।

त्यसमध्ये ७० प्रतिशतले पहिलो मात्रा खोप र ५० प्रतिशतले मात्रै दोस्रो मात्रा खोप पाएका छन् । एक लाख १७ हजार अझै पनि पहिलो मात्रा खोपबाट वञ्चित छन् । उनीहरू नै सबैभन्दा बढी जोखिममा छन् । खोपको पहिलो मात्रा लगाउँदा ३० देखि ८० प्रतिशतसम्म रोग (भाइरस)लाई छेक्न सक्ने चिकित्सकहरु बताउँछन् ।

माइक्रोबायोलोजिस्ट प्रा.डा. अन्जना सिंह भन्छिन्, ‘त्यसैले कोरोना खोप लगाएपछि शरीरमा एन्टिबडी बनिसक्यो, अब कोरोना लाग्दैन भन्नु गलत हो । शरीरमा विकास भएको एन्टिबडीले केही हदसम्म छेक्ने हो, शतप्रतिशत होइन ।’ दोस्रो मात्राको खोप लगाएको कम्तीमा दुई हप्तापछि मात्रै एन्टिबडी विकास हुने पनि उनले बताइन् ।

खोप लगाइसकेपछि पनि बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबनुपानीले बेलाबेला हात धुने वा सेनिटाइजरको प्रयोग निरन्तर गर्नुपर्ने प्रा.डा. सिंहको सुझाव छ । पहिलो र दोस्रो मात्रा खोप लगाउँदा धेरै लामो ग्याप भयो भने पनि संक्रमणको जोखिम हुन सक्ने उनी बताउँछिन् ।

प्रा.डा.सिंहका अनुसार, खोप लगाएपछि पनि शतप्रतिशत सुरक्षित भइँदो रहेनछ, मास्क लगाउनैपर्ने रहेछ भन्ने बुझेपछि एकथरी मानिस खोपप्रति उत्साहित देखिएका छैनन् । त्यसरी निरुत्साहित हुनुभन्दा खोपले गम्भीर बिरामी हुनबाट बचाउँछ र कहिलेकाहीँ त रोगै लाग्न दिँदैन भन्नेतर्फ ध्यान दिनु बुद्धिमानी हुने भनाइ छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०८:३८