काठमाडौं । नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।
२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पुर्याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो ।
नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताइन् । उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताइन् ।
कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पुर्याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पुर्याएको बताइन् । बेहोसमा सँगै भारत पुर्याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पुर्याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई बताइन् ।
खाजा खाएपछि आफू बेहोस भएको र होस खुल्दा भारतको कोठीमा पुर्याइएको टिनाले बताएको प्रहरीले जनाएको छ । कोठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष जबरजस्ती यौन व्यापारमा लगाएको उजुरी टिनाले प्रहरीमा दिएकी छन् ।
आफ्ना यौनाङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइदिएको उजुरीमा बताइएको छ । आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उनीहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आएकी थिइन् ।
घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्थे । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्थे । सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो । फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो पत्याएर उनीहरू फूलमायासँग नजिक हुनथाले ।
यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बेहोस पार्ने औषधि मिसाएर दिइएको थियो । बेहोस दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पुर्याइए र बेचिए । ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पुर्याइ पुनः पटक पटक बेचिएको जानकारी दिइन् ।
२०७४ साउनमा भारत पुर्याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल भएको हो । भारतीय प्रहरी, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा टिनालाई गत असोज २३ गते नेपाल ल्याइएको हो । उनी परिवारको संरक्षणमा छिन् । ब्युरोले बेचबिखनमा संलग्न फूलमायाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । (मित्र भण्डारी/गोरखापत्र)
।