सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकी अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

बाँके । बाँकेको कोहलपुर–कुसुम सडकखण्ड अन्तर्गत राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकी अभद्र व्यवहार गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राती सात बजेतिर अगैयाभन्दा पूर्व सिक्टा र गाभरको जङ्गलमा सवारी साधनलाई जवरजस्ती रोकेर पैसा माग्ने र अभद्र व्यवहार गर्ने ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमानगरपालिका–७ का दुुर्गा टमटा, सन्तोष पहाडी, कमल परियार, रमेश टमटा, रविन टमटा, अनिल विक र लिलाधर परियारलाई प्रहरीले पक्राउ गरेको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए । ती युवाहरु २४÷२५ वर्ष उमेर समुहका रहेका छन् ।

सो क्षेत्रको जङ्गलमा लुटेराको समुहले लुटपाट गरिरहेको खबर एउटा कार र ट्रकवालाले प्रहरीलाई जानकारी दिएपछि तत्काल अगैया प्रहरी इन्चार्ज खकेन्द्र केसीको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उनीहरुले प्रयोग गरेको बा. १४ च. ३३०३ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।

बुटवलबाट नेपालगञ्ज आउँदै गरेको बेला बीच जंगलमा कार राखेर पैसा माग्दै अभद्र व्यवहार गरेको भन्दै नेपालगञ्जका ललित कठायतले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १६:५५