सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जका नागरिकलाई न्यानो दिन चोकचोकमा उपमहानगरको आगो

बाँके । अत्याधिक चिसो तथा हुस्सुले जनजीवन कस्टकर बन्न थालेपछि नेपालगन्ज उपमहानगरले नगरका चोक चोकमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ ।

शनिबारबाट लगातार हुस्सु र सितलहरका कारण अत्याधिक चिसो बढेपछि नेपालगन्जका त्रीभुवन चोक सहित बिभिन्न चोकहरुमा उपमहानगरले दाउरा खसालेको छ ।

उपमहानगरले खसालेको दाउरा ड्रम राखेर बाल्न सुरु गरेका छन् । दाउरा उपलब्ध गराएर उपमहानगरले राहत दिएको सदरलाईनका एक व्यवसायीले बताए ।

उपमहानगरका अनुसार नगरका विभिन्न ५० बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको छ भने चिसोबाट बचाउनको लागि नगरभित्रका बिपन्न तथा आश्रय विहिनलाई समेत न्यानो कपडा वितरण गर्ने तयारी गरिएको उपमहानगरका प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले जानकारी दिए ।

उपमहानगरले वितरण गरेको दाउरामा उपमहानगर प्रमुख डा. धवल शम्शेर राणाले त्रीभुवन चोकबाट आगो बालेर उदघाटन गरेका थिए । आगो उदघाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, उपमहानगर उपप्रमुख उमा थापामगर, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १६:३७