सूचनाको शक्ति - The Power Of Information

        

सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति

बाँके । सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति भएकाे छ ।

नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायकाे माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितकाे टाेलीबीच आज मङ्गलवार बेलुकी सहमति भएकाे हाे ।

धर्नाकाे नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएकाे विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । साथै उहाँले आफूहरूकाे धर्ना र आन्दाेलनकाे कार्यक्रम स्थगित भएकाे बताउनुभयाे ।

सरकार र आन्दाेलनरत पक्षबीच चार बुँदे सहमति भएकाे हाे । यस विषयमा सीआईबीबाट छानबिन गर्ने, उजुरीकर्ता र साक्षीकाे सुरक्षाकाे प्रत्याभूति गर्ने, यस विषयमा प्रशासनिक सहजीकरण र दाेषीलाई कारबाहीकाे प्रक्रियामा ल्याउने विषयमा सहमति भएकाे मन्त्रालयका प्रवक्ता प्रदीप काेइरालाले जानकारी दिनुभयाे ।

यसअघि नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनशन बस्नुभएकी रुबी खानले अनशन तोड्नुभएको थियाे । पीडितको न्यायका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाए पनि कार्यान्वयनमा नआएकाे भन्दै रुबी खानकाे नेतृत्वमा फेरि धर्ना कार्यक्रम सुरु भएकाे थियाे ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार ०९:३२