बाँके । रोजगार लगायत विभिन्न कामका लागि भारतका ठूला सहरहरूमा पुगेर नेपाल फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण देखिने क्रम एक्कासि वृद्धि भएको छ ।
केही दिन पहिलेसम्म दुई–चार दिनमा एक–दुई जना मात्र सङ्क्रमित भेटिने गरेकोमा हाल आएर एक दिनमा १० जनाभन्दा बढी सङ्क्रमित भेटिन थालेपछि यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा थप कडाइ सुरु गरिएको छ ।
भारतमा ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकोले भारतका ठूला सहरबाट आउनेहरूको नाकामै एन्टिजेनमार्फत कोरोना जाँच गर्दा कोरोना पोजेटिभ देखिने क्रम बढेको पाइएको जमुनाह नाकास्थित हेल्थ डेस्कका प्रमुख चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।
भारतबाट आउँदै गरेका कालीकोटका चार, दाङका तीन, बाँकेका दुई र कैलालीका एक जनामा एकै दिन कोरोना पुष्टि भएको उनले बताए । तीमध्ये तीन जना महिला छन् ।
कोरोना पुष्टि भएका चार जना हरिद्वार, तीन जना दिल्ली तथा उत्तर प्रदेशको सदरमुकाम लखनउ र महाराष्ट्रबाट आएका एक–एक जनामा रहेको ज्ञवालीले बताए । एन्टिजेन विधिमार्फत ३०० जनाको कोरोना जाँच गर्दा १० जनामा पुष्टि भएको हेल्थ डेस्कले जनाएको छ ।
ती सबैको नमुनालाई ओमिक्रोन हो होइन निश्चित गर्न राजधानी काठमाडौं पठाइएको पनि जनाइएको छ । सङ्क्रमण पुष्टि भएका नौ जनालाई भेरी अस्पतालको कोरोना वार्डमा र एक जनालाई खजुरा गाउँपालिका एक, राधापुरस्थित आइसोलेसन सेन्टरमा पठाइएको हेल्थ डेस्कका इन्चार्ज ज्ञवालीले जनाए ।
भारतमा बढ्दो ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि नाकाबाट भित्रिने आशङ्का धेरै बढेकोले नाकामा धेरै कडाइ गर्ने योजना र रणनीति बनाइएको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
।