सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना खोपको ‘बुस्टर डोज’ स्थगित

काठमाडौं । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ ।

त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’ प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन् ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १७:५७