सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा करिव २० हजार नयाँ मतदाता थपिए

बाँके ।  बाँकेमा करिव २० हजार नयाँ मतदाता थपिएका छन् । गएको मङ्सिर १७ गतेदेखि पुष १८ गतेसम्म मतदाता नामावली संकलन विशेष अभियानका क्रममा ती मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान अन्तर्गत् बाँकेमा नयाँ मतदाता थपिनेक्रम अझै जारी छ ।

दोस्रो चरणको विशेष अभियान सम्पन्न हुँदा बाँकेमा २० हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम निरन्तर चलिरहेको उनको भनाइ छ ।

जिल्लास्तरमा चुनावको मिति नतोकिँदासम्म मतदाता नामावली कार्य निरन्तर जारी रहने सुवेदीले बताए । निर्वाचन कार्यालयमा नामावली संकलनका लागि मानिसहरु भीड यथावत नै छ ।

कानून अनुसार निर्वाचनमा भोट हाल्न पाउने उमेर भनेको १८ वर्ष हो । तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ ।

मतदाताका रूपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु पर्दैन तर, १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रूपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १७:३१