सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

फ्रान्समा भेटियो ओमिक्रोनभन्दा बढी संक्रामक कोरोनाको नयाँ भेरियन्ट

पेरिस । फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन् । यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो । यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन् ।

वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन् । वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन् । यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेलोमा फेला परेका छन् । यहाँबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए ।

संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला यो नयाँ स्वरुप फैलिएको छ । अब आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ । बी.१.६४०.२ भेरियन्ट फ्रान्स बाहेक अन्य कुनै पनि देशमा भेरियन्ट फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसमा अनुसन्धान शुरु गरेको छैन ।

यसैबीच भाइरस विशेषज्ञ एरिक फिगल दिङलेले नयाँ स्वरूप आएको जानकारी दिँदै यो कुन श्रेणीमा पर्छ‚ त्यो भन्न केही समय कुर्नुपर्ने बताए । यसअघि २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा ओमिक्रोन स्वरूप फेला परेको थियो । हालसम्म यो विश्वका १०० देशमा फैलिसकेको छ ।

यसैबीच विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या २९ करोड २० लाख नाघेको छ । यो महामारीका कारण अहिलेसम्म ५४ लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ९ अर्ब २० करोडभन्दा बढी मात्रा खोप लगाइएको छ । यो तथ्याङ्क जोन हप्किन्स विश्वविद्यालयले साझा गरेको हो ।

कोरोनाका सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिकी नागरिक छन् । यहाँ क्रमशः ५ करोड‚ ६१ लाख ५० हजार संक्रमित र ८ लाख २७ हजार ७२६ जनाको ज्यान गएको छ । भारत कोरोना संक्रमितको दोस्रो स्थानमा रहेको छ भने यहाँ ३ करोड ४९ लाख २२ हजार ८८२ कोरोना संक्रमित छन् ।

त्यस्तै भारतमा हालसम्म ४ लाख ८१ हजार ८९३ जनाको मृत्यु भएको छ । यसैगरी तेस्रोमा ब्राजिलमा २ करोड २२ लाख ९७ हजार ४२७ जना कोरोना संक्रमित भए भने ६ लाख १९ हजार ४०१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १५:२९