सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

माओवादी अध्यक्ष ‘प्रचण्ड’को संक्षिप्त राजनीतिक यात्रा

नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट वि.सं. २०२८ मा पार्टी सदस्यता प्राप्त गरेका प्रचण्डले २०३१ सालमा रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।

२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता भए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भई २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भए भने २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।

२०४१ सालमा ने कपा (मसाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०४२ सालमा पोलिटब्युरो सदस्य, २०४६ सालमा महामन्त्री, २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री र २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेर महामन्त्री भए ।

२०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरेका उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए । वि.सं. २०५८ मा उनी जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भए भए । २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका उनी २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने ।

२०६९ सालमा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएका प्रचण्ड २०७० सालमा विराटनगरमा सम्पन्न एकता महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका उनी २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए । २०७३ साउनमा दोस्रो पटक उनी प्रधानमन्त्री भए ।

चितवन क्षेत्र नं. ३ बाट २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका प्रचण्ड पार्टीको आठौं महाधिवेशन २०७८ पुस १९ गते पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भए । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरू लगायतका पुस्तक पनि प्रकाशित छन् ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १४:२५

सिफारिस