सूचनाको शक्ति - The Power Of Information

        

कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कस्ताले पाउने ?

थप मात्रा खोप लगाउन अनुरोध

काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ ।

कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुले पाउने छन् ।

यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि जुन खोप लगाएको हो अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ । मन्त्रालयले यसअघि खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ०८:५९