सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा चिसो बढ्यो

बाँके । नेपालगञ्जमा चिसो बढेको छ । दुई दिनदेखि विहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ ।

नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार नेपालगञ्जमा न्यूनतम तापक्रम १० देखि १५ डिग्री सेल्सियसमा झरेको छ ।

विहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर मधुरो घाम देखिने गरेको छ । चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बाल्ने व्यवस्था मिलाउने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिए । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ ।

विहान स्कुल तथा कलेज जाने बिद्यार्थीहरु पनि मर्कामा परेका छन् । नेपालगञ्जमा चिसोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुने ठाउँ मानिन्छ ।

शीतलहरसँगैको कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थलमा विहानका उडान सर्ने गरेको छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १७:४४