सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँके समृद्धिको आधार खोज्दै उद्योग वाणिज्य संघ

बाँके । बाँके समृद्धिका आधारका विषयमा धेरै अघिदेखि नै बहस हुने गरेपनि औपचारीक रुपमा छलफल हुन सकेको थिएन । सरोकारवालाबीच घनिभूत छलफल नहुँदा समृद्ध बाँकेका आधारहरु तय हुन सकेका थिएनन् ।

शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघले समृद्ध बाँकेका आधारहरु विषयक कार्यशाला आयोजना गरेर छलफल सुरु गरेको छ । संघको ५४औं स्थापना दिवसको अवसरमा आयोजित छलफलमा प्रस्तुत आधारपत्रले उद्योग, वाणिज्य र पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाएको छ ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्याकद्वय डा. राजेशकेशर खनाल, कोशराज रेग्मी र पत्रकार शंकरप्रसाद खनालले समृद्ध बाँकेका आधारहरु विषयक आधारपत्र प्रस्तुत गरेका थिए ।

आधारपत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ग्रीन र डिजिटल सिटीलाई समृद्धिको आधारका रुपमा प्रस्तुत गरिएको थियो । सो अवसरमा उद्योगी, व्यापारी, पर्यटन व्यवसायी, अर्थशास्त्री र पत्रकारको ५ वटा समूहमा जिल्लामा समृद्धिको आधारका विषयमा समूहगत छलफल भएको थियो ।

जिल्लाको समृद्धिको मुख्य आधारका रुपमा उद्योगलाई लिइएको छ । बाँकेमा समृद्धिको आधारका रुपमा रहेका २ वटा औधोगिक क्षेत्र निर्माणका क्रममा रहनुका साथै करिव १० हजारको संख्यामा साना ठूला उद्योगहरु रहेकाले उद्योग क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन सकिने कार्यपत्रको निष्कर्ष छ ।

कार्यपत्रमा नेपालगन्जलाई प्रदेशको औद्योगिक राजधानी घोषणा, हरेक पालिकामा औद्योगिक करिडोरको विकास, कर्णाली क्षेत्रमा उत्पादन हुने जडिबुटी औद्योगिक उत्पादनमा रुपमा परिणत गर्ने, रुपैडिहादेखि हिल्सासम्म कर्णाली करिडोर विकास गर्ने, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनका लागि नीतिगत सुधार गर्नुपर्ने लगायतका सम्भावनालाई प्रस्तुत गरिएको छ ।

यस्तै उद्योगीलाई प्रोत्साहनको नीति, बजारीकरणका लागि रेलमार्ग, राजमार्ग र हवाई मार्गको व्यापक विकास गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

त्यसैगरी समृद्धिको आधारको अर्को सम्भावनाको रुपमा वाणिज्य क्षेत्रलाई लिइएको छ । यस क्षेत्रको समग्र आर्थिक विकासका लागि निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आइसिपी), सख्खा बन्दरगाह विकास, छोटी भन्सारको पुनस्र्थापना, सबै व्यवसायलाई दर्ता, सीमामा आवागमन नियमन गर्न परिचयपत्र लागु गरिनुपर्ने विषयमा कार्यपत्रमा जोड दिइएको छ ।

कार्यपत्रले बाँकेको समृद्धिको अर्को मुख्य आधार पर्यटन क्षेत्रको विकासलाई लिइएको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने, नेपालगन्ज दिल्ली उडान सुरु गर्नुपर्ने, होमस्टे विस्तार, स्टार लेभलका होटलमा एउटा स्थानीय स्वादको परिकारको रेष्टुरेन्ट हुनुपर्ने बाध्यात्मक व्यवस्था लगायतका सुझावहरु कार्यपत्रमा प्रस्तुत गरिएको छ ।

यसैगरी कृषिको विकासका लागि कृषि पकेट क्षेत्र विस्तार, तरकारी र खाद्यान्नमा आन्मनिर्भर र अर्गानिक खेतीमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

शिक्षाको विकासका लागि प्राविधिक शिक्षामा जोड दिइएको छ । बाँकेमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्नुपर्ने, जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा तालिम सन्चालन गर्ने सुझाव कार्यपत्रको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि भेरी अस्पताललाई विशिष्टकृत अस्पतालसँगै शिक्षण अस्पतालको रुपमा विकास गर्ने, पूर्वाधारतर्फ रेलमार्ग, हुलाकी राजमार्गको विस्तार, नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण, पूर्वाधारको स्तरोन्नति र ग्रामीण भेगमा पनि पूर्वाधार विकासमा जोड दिनुपर्ने, नेपालगन्ज, कोहलपुर र डिजिटल सिटीकारुपमा विकास गर्दै स्मार्ट सिटी बनाउनुपर्ने कार्यपत्रको निचोड छ ।

कारोबार दैनिक

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १०:२७