सूचनाको शक्ति - The Power Of Information

        

अपडेट : मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

पाल्पा । रुपन्देहीको बुटवल, रानीगन्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको मलामी चढेको लु२ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो ।

आज बिहान पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लगुवामा दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस दुर्घटना हुँदा मृत्यु भएका आठमध्ये तीन जनाको सनाखत भएको छ ।

बुटवल–११ बुद्धनगरका ७० बर्षिय बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा बुबा बीरबहादुर विकको मलामी गएका छोरा लालबहादुरको पनि मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको अरु चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् । बस दुर्घटनामा गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १६:५७