सूचनाको शक्ति - The Power Of Information

        

समाचार

९५०० घरधुरीलाई ग्याँस सिलिन्डर र चुल्हो बाँड्दै नरैनापुर गाउँपालिका

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले आजबाट पालिका ग्याँस सिलिन्डर र चुल्हो वितरण सुरु गरेको छ । गाउँपालिकाले पाँच करोड रकम खर्चेर पालिकाभित्रका ९ हजार ५०० घरधुरीलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको जनाएको छ ।

नौं बुँदे प्रतिवद्धतासहित डिजिटल प्रविधिबाट आजबाट ग्याँस सिलिन्डर र चुल्हो वितरण सुरु गरिएको र एक महिनाभित्र पालिकाका सबै घरधुरीलाई वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

उनका अनुसार बन जंगल फडानी गर्ने कार्य रोकेर वातावरण संरक्षणमा योगदान पुर्याउन, आगलागी नियन्त्रण र धुवाँबाट हुने रोगहरु न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाका सबै घरधुरीलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक घरधुरीका अगुवासँग घरमा शौचालय निर्माण गरी नियमित प्रयोग गर्ने, उमेर पुगेका बालबालिकालाई नियमित बिद्यालय पठाउनुपर्ने, कोभिड १९ लगायत, बालबालिकालाई सबै खोप लगाई पूर्ण खोपयुक्त गाउँपालिका बनाउने प्रतिवद्धतासमेत लिएको छ ।

त्यस्तै बालबिवाह, बालश्रममुक्त परिवारको निर्माण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सहयोग पुर्याउनुपर्ने, लैङ्गिक तथा घरेलु हिंसा गर्न नपाइने, जातिय तथा धार्मिक छुवाछुत र भेदभाव गरे कानन बमोजिम कारबाही सहने छु भन्ने प्रतिवद्धतापत्रमा हस्तक्षर समेत गराएर ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको छ ।

गाउँपालिकाले खाना पकाउने प्रयोजनका लागि प्रति परिवार ग्याँस भरिएको सिलिण्डर १ थान, चुल्हो १ थान, पाइप २ मीटर, लाइटर १ थान दिइएको र उक्त ग्यास तथा सिलिण्डर गतल रुपमा प्रयोग भएको पाइएमा कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १४:५४