सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

बझाङ । दिर्घकालिन रुपमा रहने बिकास निर्माणका योजनाहरुको स्थलगत अबलोकन गरि संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आइपुगेको छ ।

टोलीले शनिबार आयोजित अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दिर्घकालिन बिकास निर्माणका कामहरुलाई संकलन गरि आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस् भन्ने उद्देश्यले टोलीले स्थलगत अबलोकन गरेको हो ।

आयोगका उपाध्यक्ष डा.बिश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बिकास निर्माणका योजनाहरुलाई संकलन गरी सरकारले अगामी दिनमा बनाउने योजनाहरुमा समेटिने बताए ।

गएको कात्तिक १ गतेदेखि तीन दिनसम्म आएको बेमौषमी वर्षा र बाढीका कारण जिल्लामा मानविय क्षति हुनुका साथै ठूलो जनधनको क्षति बिभिन्न सरकारी संरचनाको क्षति भएको थियो ।

भौगोलिकरुपमा अतिबिकट रहेका बझाङमा ठूला विकास निर्माणका कार्यहरु समेत सुचारु हुन नसकेकाले अगामी दिनमा यहाँबाट संकलन गरिएका योजनाहरुले प्राथमिकता पाउनुपर्ने स्थानियहरुले सुझाव स्थानियहरुले सुझाव दिएका छन् ।

चिनलाई जोड्ने नेपालको सबैभन्दा छोटो मार्गको रुपमा रहेको ताक्लाकोट नाकालाई खोल्न सरकारको ध्यानार्कषण हुनुपर्ने नेपाली काँग्रेसका सभापति खडकबहादुर बोहराले बताए ।

उनले भने, ‘यसका अलवा बझाङमा अथाह स्रोत र प्राकृतिक सम्पदा रहेकाले सरकारले तिनीहरुको समुचित प्रयोग हुने खालका योजना बनाउनुपर्छ ।’ आयोगका उपाध्यक्ष पौडेलले बिकास भनेको तलबाट हुने प्रकृया भएकाले ग्रामिण भेगमा आएर प्रतक्ष अबलोकन गरेर योजना निर्माण गरिनु पर्ने बताए ।

उपाध्यक्ष पौडेलले बाढीका कारण जयपृथ्बी राजमार्गको जालेबगर, सेती नदीको कटानको संकटमा रहेको देवल बिमानस्थल, चैनपुर लगायत सेती नदी किनारका बस्तीलाई तटबन्धन गर्न र जयपृथ्बी राजमार्गलाई नियमित सुचारु गर्न आबस्यक रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिममा ठूला आयोजनाले देश बिकासमा टेवा पुगाउने र देशको पुजी निर्माण गर्न समेत महत्वपूर्ण भमिका निर्माण गर्ने खालका योजनाहरुलाई प्रथमिकतामा राखेर अगाडी बढ्नुपर्ने बताए ।

केन्द्रिय सदस्य महरले सुदूरपश्चिमका पञ्चेश्वर, पश्चिम सेती आयोजना, चैनपुर ताक्लाकोट सडक जस्ता थुप्रै आयोजनाले मुलुकको बिकासमा नयाँ आयाम थप्ने धारणासमेत राखेका थिए ।

गएको कात्तिक १ गते आएको बेमौषमी बाढीका कारण देशैभर सबै भन्दा बढी क्षती बझाङ जिल्लामा भएकाले बझाङका सबै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गरेर बिकास निर्माणका कामलाई अगाडी बढाउनुपर्ने महरको भनाई छ ।

आयोग नै जिल्लामा आएर अवस्था बुझ्दा पनि स्थानीयले भने उल्टै भत्ता पचाउन आएको आरोप लगाए । जिल्लाका आएको महाविपत्तीको समयमा समेत उच्चपदस्थ ब्यक्तिहरु आफै अनुगमनमा आएको भए पनि कुनै राहतका कार्यक्रम नल्याएको जिल्लावासीको गुनासो छ ।

प्रधानमन्त्री, गृहमन्त्री, नागरिक उड्ययन मन्त्री लगायत प्रदेशका मुख्यमन्त्री, सभामुख लगायतका थुप्रै नेताहरु हेलिकप्टर चढेर जिल्लाका आएको भए पनि जनताको घाउमा मलम लगाउन नसेको धर्मजंग बहादुर सिंहले बताए ।

उनले भने, ‘यस अघीपनि जिल्लामा प्रधानमन्त्रीले आफैले अनुगमन गर्नु भएको हो । तर जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नुको साँटो चार वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर झारो टार्ने काममात्र भयो ।’

जुनसुकै निकाय आएपनि उनीहरुले सर्वसाधरणको समस्या बुझ्न नभइ आफ्नो भत्ता पचाउन र प्रक्रिया पुरा गर्नका लागि मात्र जिल्ला आउने गरेको स्थानयीहरुले आरोप लागएका छन् ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १३:३०